
काठमाडौं । आगामी बुधवार हुने फिफा विश्वकपको पहिलो सेमिफाइनलमा अपराजित फ्रान्स र स्पेन भिड्दै छन् । यो खेलमा फ्रान्सको आक्रामक फरवार्ड लाइन बलियो कि स्पेनको अभेद्य डिफेन्सरु एकातिर विपक्षीले सानो गल्ती गर्नेबित्तिकै गोलमा परिणत गर्ने फ्रान्सको घातक फ्रन्टलाइन छ भने, अर्कोतिर विपक्षीलाई गोलको खाता खोल्न समेत नदिने स्पेनको फलामे डिफेन्स र मिडफिल्ड छ । आखिर यी दुई टोलीको मुख्य कमजोरी के हो र बलियो पक्ष के रु कसले मार्ला फाइनलको बाजी ?आउनुहोस्, यसैबारे चर्चा गरौँ ।
फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आगामी बुधवार साबिक उपविजेता फ्रान्स र २०२४ को युरो कप विजेता स्पेन भिड्दै छन् । एउटा टोलीसँग सबैभन्दा डरलाग्डो आक्रमण छ भने अर्कोसँग पर्खालजस्तै बलियो प्रतिरक्षा । एउटा टोली गोलको वर्षा गरिरहेको छ भने अर्कोले विपक्षीलाई गोल गर्ने मौकासम्म दिएको छैन । यही कारण फ्रान्स र स्पेनबीचको यो भिडन्त केवल एउटा खेल मात्र नभएर आक्रमण र रक्षाबीचको महायुद्ध जस्तै हुनेछ । यी दुवै टोली अहिलेसम्म प्रतियोगितामा अपराजित छन् । त्यसैले, यो खेलसँगै कुनै एक टोलीको अपराजित यात्रा टुङ्गिने निश्चित छ भने विजयी टोलीले विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
जारी विश्वकपको तथ्याङ्क हेर्ने हो भने फ्रान्स आक्रमणमा सबैभन्दा खतरनाक टोली देखिन्छ । सेमिफाइनलसम्म आइपुग्दा फ्रान्सले विपक्षीको पोस्टमा कुल १६ गोल ठोकिसकेको छ, जुन यस प्रतियोगिताकै सबैभन्दा बढी हो । समूह चरणमा सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ४–१ ले हराएको फ्रान्सले नकआउट चरणमा पनि आफ्नो सोही लय कायम राख्यो । राउन्ड अफ ३२ मा स्विडेनलाई ३–०, अन्तिम १६ मा पाराग्वेलाई १–० र क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्सले सेमिफाइनलको यात्रा तय गरेको हो । यसले फ्रान्सको फ्रन्टलाइन कति डेन्जर छ भन्ने प्रष्ट पार्छ ।
अर्कोतर्फ, स्पेनको रक्षापंक्तिले विपक्षी स्ट्राइकरहरूलाई हायलकायल बनाएको छ । स्पेनले अहिलेसम्मका ६ खेलमा केवल १ गोल मात्र खाएको छ, त्यो पनि क्वाटरफाइनलमा बेल्जियमविरुद्ध । त्यसअघिका पाँच खेलसम्म स्पेनले ‘क्लिनसिट’ राखेका थिए, जसले उसको डिफेन्स कति मजबुत छ भन्ने प्रमाणित गर्छ । समूह चरणको पहिलो खेलमा केप भर्डेजस्तो तुलनात्मक रूपमा कमजोर टोलीसँग गोलरहित बराबरीमा रोकिँदा आलोचनो खेपेको स्पेनले दोस्रो खेलमै साउदी अरेबियामाथि ४–० को सानदार जित निकाल्दै उत्कृष्ट पुनरागमन ग¥यो । समूह चरणको अन्तिम खेलमा उरुग्वेलाई १–० ले हराउँदै स्पेन समूह विजेता बनेको थियो । नकआउट चरणमा प्रवेश गरेपछि स्पेनले राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० र राउन्ड अफ १६ मा पोर्चुगललाई १–० ले घर पठाउँदै क्वाटरफाइनलमा बेल्जियमको कडा चुनौती पन्छाएको थियो ।
तर, फुटबल केवल तथ्यांकले मात्र जितिँदैन । प्रत्येक टोलीसँग केही न केही कमजोरी अवश्य हुन्छ । स्पेनको यात्रा सुन्दर देखिए पनि बेल्जियमविरुद्धको खेलले उसको एउटा कमजोरी उजागर गरिदियो । जब विपक्षीले तीव्र गतिमा काउन्टर आक्रमण गर्छ, स्पेनको डिफेन्स केही क्षणका लागि असन्तुलित देखिन्छ । बल नियन्त्रणमा उत्कृष्ट भएपनि धेरै खेलाडी आक्रमणमा होमिँदा पछाडि स्पेस छोड्ने बानीले उनीहरूलाई जोखिममा पार्न सक्छ । फ्रान्सले यही कमजोरीको फाइदा उठाउने प्रयास गर्नेछ ।
स्पेनको अर्को समस्या फिनिसिङ हो । स्पेनले अवसर धेरै सिर्जना गर्छ, सट पनि धेरै प्रहार गर्छ, तर त्यसअनुसार गोल निकाल्न सक्दैन । केप भर्डेविरुद्ध २३ सट प्रहार गर्दा पनि गोल निस्किएन भने अस्ट्रियाविरुद्ध २२ सटमा केवल ३ गोल मात्र सम्भव भयो । यसको अर्थ स्पष्ट छ– स्पेनसँग अझै पनि पेनाल्टी बक्सभित्र एक कुशल ‘सेन्ट्रल स्ट्राइकर’को अभाव छ । पासको जालो जति सुन्दर भए पनि अन्तिम टच कमजोर भयो भने त्यसको कुनै अर्थ रहँदैन ।
उता फ्रान्सको खेल शैली बिल्कुल फरक छ । उनीहरूलाई ७० प्रतिशत बल नियन्त्रण चाहिँदैन । उनीहरू विपक्षीको एउटा सानो गल्ती पर्खिन्छन् र त्यसैलाई गोलमा परिणत गरिदिन्छन् । यही कारण फ्रान्ससँग खेल्दा एक सेकेन्डको असावधानी पनि महँगो पर्न सक्छ । सेमिफाइनलमा पनि फ्रान्सको योजना यही हुनेछ– स्पेनलाई बल खेल्न दिने, तर स्पेस भेट्नेबित्तिकै घातक काउन्टर आक्रमण गर्ने ।
यस खेलमा इतिहास पनि निकै रोचक छ । यी दुई टोली अहिलेसम्म ३८ पटक आमनेसामने भएका छन्, जसमा स्पेनले १८ खेल जितेको छ भने फ्रान्सले १३ खेल आफ्नो पक्षमा पारेको छ । ७ खेल भने बराबरीमा सकिएका छन् । तर, विश्वकपमा भने यी दुई टोली केवल एकपटक मात्र भिडेका छन् । सन् २००६ को विश्वकपको अन्तिम १६ मा जिनेदिन जिदानको फ्रान्सले स्पेनलाई ३–१ ले हराएको थियो । पछिल्ला भेटहरू भने स्पेनको पक्षमा देखिन्छन् । २०२४ को युरोकप सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएको थियो भने २०२५ को नेसन्स लिग सेमिफाइनलमा ५–४ को सनसनीपूर्ण जित निकालेको थियो । त्यसैले अहिले फ्रान्ससँग सो हारको बदला लिने ठूलो अवसर छ । तर, स्पेन भने सोहि नजिता दोहो¥याउन चाहन्छ ।
अब यी दुई टोलीका खेलाडी कस्ता छन् भनेर पनि केलाऔँ । सबैभन्दा पहिले गोलकिपरबाटै कुरा गर्दा स्पेनको डिफेन्स चम्किनुमा उनाई साइमनको ठूलो हात छ । उनी ‘स्वीपर–किपर’ को भूमिकामा उत्कृष्ट छन्, जसले खुट्टाले पास खेल्न र डिफेन्सलाई गाइड गर्न राम्रो जान्दछन् । ब्याक–अपमा रहेका डेविड राया पनि आर्सनलबाट प्रिमियर लिग गोल्डेन ग्लभ जितेर उच्च लयमा छन् । यता फ्रान्सको कुरा गर्दा, ह्युगो लोरिसको सन्यासपछि पोस्ट सम्हालेका माइक मैग्नन विश्वकै उत्कृष्ट सट–स्टपरमध्ये एक हुन् । पेनाल्टी बचाउन र एयर बलहरू नियन्त्रण गर्न माहिर उनले जारी विश्वकपमा जम्मा दुई गोल मात्र खाएका छन् ।
डिफेन्सको कुरा गर्ने हो भने स्पेन अलि अगाडी देखिन्छ । स्पेनको डिफेन्समा युवा र अनुभवको गज्जबको समीश्रण छ । लेफ्ट–ब्याकमा मार्क कुकुरेलाले विपक्षी विङ्गरहरूलाई चल्नै दिँदैनन् । मार्क कुकुरेला लेफ्ट ब्याकमा लगातार माथि–तल दौडिन्छन् । कहिलेकाही लाग्छ उनी डिफेन्डर होइनन, फरवार्ड नै हुन् । बार्सिलोनाका युवा डिफेन्डर पाऊ कुबार्सीले सानै उमेरमा परिपक्व खेल देखाएका छन् भने एमेरिक लापोर्टले डिफेन्सको नेतृत्व गरिरहेका छन् । उनीहरू बल पास गरेर आक्रमण बुन्न खप्पिस छन् । यी डिफेन्डरहरू केवल बल रोक्दैनन्, आक्रमणको सुरुवात पनि उनीहरूकै खुट्टाबाट हुन्छ ।
यता, फ्रान्सको डिफेन्स शारीरिक रूपमा निकै बलियो र गतिशील छ । आर्सनलका विलियम सलिबा अहिले विश्वकै सर्वोत्कृष्ट सेन्टर–ब्याक मानिन्छन् । लेफ्ट–ब्याकमा थिओ हर्नान्डेजको गति यति तीव्र छ कि उनी एकैछिनमा विङ्गर बनेर क्रस निकाल्न सक्छन् । बार्सिलोनाका जुल्स कुन्डे र लिभरपुलका इब्राहिमा कोनाते पनि विश्वस्तरीय डिफेन्डर हुन् । तर, स्पेनको सन्तुलनको तुलनामा फ्रान्सको डिफेन्स केही कमजोर ९१९ को २०० देखिन्छ ।
मिडफिल्डमा भने स्पेनको बलियो पकड देखिन्छ । स्पेनको मिडफिल्ड संसारकै सबैभन्दा बलियो मिडफिल्डमध्ये एक हो । ब्यालोन डी’ओर विजेता रोड्रि खेलको गति नियन्त्रण गर्ने ’मास्टरमाइन्ड’ हुन् । पेड्रि र गाभीको जोडीले सिर्जनशीलता र आक्रामकता प्रदान गर्छन् भने डानी ओल्मो बक्सभित्र छिरेर गोल निकाल्न माहिर छन् । बल उनीहरूसँग पुगेपछि खोस्नै मुस्किल हुन्छ । स्पेन यति धेरै पास खेल्छ कि विपक्षी टोली बल खेल्न आएको हो कि बल हेर्न आएको हो भनेर दिक्क हुन्छन् होला ।
यता, फ्रान्सको मिडफिल्डमा पनि त्यस्तै कमजोर त छैन । एनगोलो कान्टेजस्ता उत्कृष्ट खेलाडी छन्, जसको पहिचान नै विपक्षीको खुट्टाबाट बल खोस्नु र खेलको गति नियन्त्रण गर्नु हो । फ्रान्सका अर्का ठूला भरोसा म्यानचेस्टर सिटीका प्लेमेकर रायान चेर्की र पीएसजीका २० वर्षे युवा वारेन जिएर एमेरी हुन् । तर, स्पेनका मिडफिल्डरसँग तुलना गर्दा फ्रान्सको मिडफिल्ड सिर्जनशीलतामा केही कमजोर देखिन्छ । डिफेन्स र फरवार्ड जतिसुकै बलियो भए पनि मिडफिल्ड कमजोर भयो भने खेलको कन्ट्रोल नै गुम्न पुग्छ । त्यस्तैले फ्रान्स र स्पेनबीच हुने महाभिडन्तमा पनि खेलको भाग्य तय गर्ने सबैभन्दा ठूलो फ्याक्टर यही मिडफिल्ड नै हो ।
अब कुरा गरौँ, फरवार्ड लाइनको । स्पेनको आक्रमणको मुख्य हतियार दुई युवा विङ्गर हुन् । केवल १८ वर्षका लामिन यामाल र तीव्र गतिका निको विलियम्सले जुनसुकै डिफेन्सलाई छिनभरमै ध्वस्त पार्न सक्छन् ।
उनीहरूको ड्रिब्लिङ र गति फ्रान्सका लागि ठूलो चुनौती हुनेछ । साथै, रियल सोसिडाडका कप्तान माइकल ओयारजाबललाई नजरअन्दाज गर्न मिल्दैन, जसले जारी विश्वकपमा ४ गोल गर्दै स्पेनका लागि शीर्ष गोलकर्ता बनेका छन् । यता फ्रान्सको फरवार्ड लाइन भने साँच्चै नै डरलाग्दो छ । कप्तान किलियन एम्बाप्पे यस विश्वकपमा ८ गोलसहित गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् । उनको गति र फिनिसिङको अगाडि विश्वका कुनै पनि डिफेन्डर टिक्क गाह्रो हुन्छ । फ्रान्ससँग एम्बाप्पे, ओस्मान डेम्बेले र माइकल ओलिसेजस्ता रफ्तारका बादशाह छन् । काउन्टर–अट्याकमा यी तीन जनाले बल पाए भने विपक्षी डिफेन्सलाई सास फेर्ने फुर्सद हुँदैन ।
फ्रान्सको विशेषता के हो भने एउटा स्ट्राइकर रोकिए अर्को चम्किन्छ । यदि यी तीनै जनाको दिन खराब भए पनि बेन्चबाट डिजिरे डुए र ब्राडली बारकोला जस्ता खेलाडी आउन सक्छन् । अर्थात्, फ्रान्ससँग प्लान ए, बी र सी सबै तयार छ । यिनीहरूकै उदयले गर्दा करिम बेन्जेमा, एन्टोइन ग्रिजम्यान र ओलिभर जिरुड जस्ता लेजेन्डहरूको अन्तर्राष्ट्रिय करियर नै सकियो ।
यस्ता सुपर–स्टारहरू समेत टिममा नपर्ने यो फ्रान्सेली टोली कति खतरनाक होला, आफैँ विचार गर्नुहोस् । त्यसैले अहिले विश्व फुटबलमा एउटा प्रश्न बारम्बार उठिरहेको छ– फ्रान्सलाई कसले रोक्ने रु उत्तर भने सजिलो छैन । तर स्पेनसँग त्यो क्षमता अवश्य छ । किनकि उनीहरूसँग प्रतियोगिताकै उत्कृष्ट डिफेन्स र मिडफिल्ड भएको टिम हो । तर, खेलमा आँखा हुँदैन । यहाँ मैदानभित्र जे पनि हुन सक्छ । एउटा गल्ती, एउटा काउन्टर, एउटा रातो कार्ड वा एउटा अद्भुत गोलले ९० मिनेटको कथा बदलिदिन सक्छ । यही कारण फ्रान्स र स्पेनबीचको यो भिडन्त विश्वकपकै सबैभन्दा प्रतीक्षित खेल बनेको छ । एकातिर प्रतियोगिताकै सबैभन्दा विस्फोटक आक्रमण, अर्कोतिर पर्खालजस्तो प्रतिरक्षा । एकातिर एम्बाप्पेको रफ्तार, अर्कोतिर रोड्रीको मास्टरमाइन्ड । अब हेर्न बाँकी एउटै कुरा छ– फाइनलको टिकट कसले काट्छ रु फ्रान्सले आफ्नो आक्रमणको धार कायम राख्ला कि स्पेनको फलामे रक्षाले अर्को इतिहास लेख्लारु यसको उत्तर अब मैदानले नै दिनेछ ।














