काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह चीन भ्रमण सिध्याएर स्वदेश आइसेका छन् । पार्टीको नेतृत्वसँग असन्तुष्ट भइरहेका बेला उनी गत बुधबार चारदिने भ्रमणको लागि चीन पुगेका थिए । उनी शनिबार राती फर्केका छन् । उनी चीनमा कुन कार्यक्रमको लागि गएको भन्ने खुलाइएको छैन ।

रास्वपा नेतृत्वको सरकारका गतिविधि र रास्वपाको महाधिवेशनका बेला सिंह असन्तुष्ट बनेका थिए । सात दिनसम्म चितवनमा महाधिवेशन भए पनि अमरेश सहभागी भएका थिएनन् । संसदबाटै सिंहले रास्वपा सरकारको कार्यसम्पादनप्रति तीव्र असन्तुष्टि जनाएका बेला उनी गोप्यरुपमा चीन पुगेका हुन् । उनै असन्तुष्ट अमरेशको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उनी चीन जानुलाई सामान्य रुपमा लिइएको छैन । सिंह चीन पुगेको अघिल्लो साँझ अर्थात गत मंगलबार भारत सरकारको अनुसन्धान तथा विश्लेषण विङ (रिसर्च एण्ड एनालिसिस विङ, रअ) को नयाँ प्रमुखमा पराग जैन पनि चीन पुगेका थिए । जुलाई १ बाट कार्यभार सम्हालेका उनको चीन भ्रमण पहिलो भए पनि अमरेश सिंह पनि त्यही समय चीन पुग्नुलाई संयोगमात्र मान्न सकिन्न ।
पञ्जाब क्याडरका १९८९ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकारी जैन एभिएसन रिसर्च सेन्टर (एआरसी) का प्रमुख थिए । उनले पाकिस्तानमा भएको ‘अपरेशन सिन्दूर’का क्रममा महत्वपूर्ण गुप्तचर समन्वयको नेतृत्व गरेका थिए । उनी रवि सिन्हाको स्थानमा रअ प्रमुख बनेका हुन् ।
पराग जैनलाई एक शान्त तर तीक्ष्ण सोच भएका रणनीतिक गुप्तचर अधिकारीका रूपमा चिनिन्छ । उनले भारतको आन्तरिक र बाह्य गुप्तचर संस्था, आईबी र रअ दुवैमा लामो समय बिताएका थिए । उनले क्यानाडा र श्रीलंकामा समेत कुशलतापूर्वक काम गरेका कारण भारत सरकारले रअको प्रमुख बनाएको थियो । त्यतिमात्र होइन । पराग जैनको विशेषज्ञता पाकिस्तान र चीनसँग सम्बन्धित रणनीतिक योजनाहरूमा रहेकाले पनि चीन भ्रमण महत्वपूर्ण मानिएको हो ।
नेपालको राजनीतिमाथि कालो बादल मडारिएका बेला सिंहले पराज जैनसँग भेटघाट गरेको अनुमान छ । अहिलेको सरकारसँग दुई छिमेकी मुलुक भारत र चीन समेत असन्तुष्ट रहेका बेला सिंहले रअका प्रमुख जैनसँग भेटघाट गरेको अनुमानले मुलुकको राजनीति समेत तरंगित बनेको छ ।
बालेन साह नेतृत्वको सरकारको क्रमभंगताप्रति रास्वपाकै सांंसद रहेका सिंह असन्तुष्ट छन् । उनले मधेशको भोट लिएर बनेको सरकारले मधेशीलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । ‘मधेशको लागि एउटा प्याकेजको अपेक्षा गरेको थिएँ, यो सरकारमाथि मधेशको अधिकार पनि छ ।
प्रत्यक्ष र समानुपातिकमा पनि सबैभन्दा बढी भोट मधेशले दिएको छ । मधेश विस्फोटको स्थितिमा छ । त्यो विस्फोट हुनुभन्दा पहिला त्यसको उपचार गर्नुस् । न उसको सत्तामा अनुहार हुन्छ, न नियुक्तिमा, यसरी राज्य चल्दैन,’ उनले भनेका थिए । यो असन्तुष्टि पछि सिंहले रास्वपाका नेताहरुसँगको सँगतलाई कम गर्दै लगेका छन् ।














