Logo
Logo

फाइनलअघिको फाइनलः कुन टोली फाइनलमा पुग्ला ? – भिडियोसहित


63
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा दुई महाशक्ति फ्रान्स र स्पेन आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार राति पौने १ बजे टेक्सासमा हुने यो खेललाई धेरैले ‘फाइनलअघि नै फाइनल’ भनेर व्याख्या गरिरहेका छन् । एकातिर लगातार तेस्रो विश्वकप फाइनल पुग्ने लक्ष्य बोकेको फ्रान्स छ, अर्कोतिर १६ वर्षपछि फेरि विश्वकप उचाल्ने सपना बोकेको स्पेन ।

यो खेल केवल दुई टोलीबीचको प्रतिस्पर्धा होइन । यो आक्रमण र रक्षाबीचको लडाइँ पनि हो । एउटा टोलीले गोलको वर्षा गरिरहेको छ, अर्को टोलीले विपक्षीलाई गोल गर्ने मौका नै दिइरहेको छैन । त्यसैले आज राति टेक्सासको मैदानमा फुटबलको असली परीक्षा हुँदैछ ।

अहिलेसम्मको तथ्यांक हेर्ने हो भने फ्रान्स यो विश्वकपको सबैभन्दा डेड्ली अट्याकिङ टिम हो । सेमिफाइनलसम्म आइपुग्दा फ्रान्सले विपक्षीको पोस्टमा १६ गोल गरिसकेको छ, जुन प्रतियोगिताकै सबैभन्दा धेरै हो । समूह चरणमा सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ४–१ ले हराएको फ्रान्सले नकआउट चरणमा पनि आफ्नो सोही लय कायम राख्यो । राउन्ड अफ ३२ मा स्विडेनलाई ३–०, अन्तिम १६ मा पाराग्वेलाई १–० र क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्सले सेमिफाइनलको यात्रा तय गरेको हो । यसले फ्रान्सको फ्रन्टलाइन कति डेन्जर छ भन्ने प्रष्ट पार्छ ।

अर्कोतर्फ, स्पेनको रक्षापंक्तिले विपक्षी स्ट्राइकरहरूलाई हायलकायल बनाएको छ । स्पेनले अहिलेसम्मका ६ खेलमा केवल १ गोल मात्र खाएको छ, त्यो पनि क्वाटरफाइनलमा बेल्जियमविरुद्ध । त्यसअघिका पाँच खेलसम्म स्पेनले ‘क्लिनसिट’ राखेका थिए, जसले उसको डिफेन्स कति मजबुत छ भन्ने प्रमाणित गर्छ । समूह चरणको पहिलो खेलमा केप भर्डेजस्तो तुलनात्मक रूपमा कमजोर टोलीसँग गोलरहित बराबरीमा रोकिँदा आलोचनो खेपेको स्पेनले दोस्रो खेलमै साउदी अरेबियामाथि ४–० को सानदार जित निकाल्दै उत्कृष्ट पुनरागमन ग¥यो ।

समूह चरणको अन्तिम खेलमा उरुग्वेलाई १–० ले हराउँदै स्पेन समूह विजेता बनेको थियो । नकआउट चरणमा प्रवेश गरेपछि स्पेनले राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० र राउन्ड अफ १६ मा पोर्चुगललाई १–० ले घर पठाउँदै क्वाटरफाइनलमा बेल्जियमको कडा चुनौती पन्छाएको थियो ।

गोलकिपरको कुरा गर्ने हो भने स्पेनको डिफेन्स चम्किनुमा उनाई साइमनको ठूलो हात छ । उनी ‘स्वीपर–किपर’ को भूमिकामा उत्कृष्ट छन्, जसले खुट्टाले पास खेल्न र डिफेन्सलाई गाइड गर्न राम्रो जान्दछन् । ब्याक–अपमा रहेका डेविड राया पनि आर्सनलबाट प्रिमियर लिग गोल्डेन ग्लभ जितेर उच्च लयमा छन् । यता फ्रान्सको कुरा गर्दा, ह्युगो लोरिसको सन्यासपछि पोस्ट सम्हालेका माइक मैग्नन विश्वकै उत्कृष्ट सट–स्टपरमध्ये एक हुन् । पेनाल्टी बचाउन र एयर बलहरू नियन्त्रण गर्न माहिर उनले जारी विश्वकपमा जम्मा दुई गोल मात्र खाएका छन् ।

डिफेन्सको कुरा गर्ने हो भने स्पेन अलि अगाडी देखिन्छ । स्पेनको डिफेन्समा युवा र अनुभवको गज्जबको समीश्रण छ । लेफ्ट–ब्याकमा मार्क कुकुरेलाले विपक्षी विङ्गरहरूलाई चल्नै दिँदैनन् । मार्क कुकुरेला लेफ्ट ब्याकमा लगातार माथि–तल दौडिन्छन् । कहिलेकाही लाग्छ उनी डिफेन्डर होइनन, फरवार्ड नै हुन् । बार्सिलोनाका युवा डिफेन्डर पाऊ कुबार्सी र एमेरिक लापोर्टले डिफेन्स लाइन अझ मझबुत बनाएको छ । उनीहरू बल पास गरेर आक्रमण बुन्न खप्पिस छन् । यी डिफेन्डरहरू केवल बल रोक्दैनन्, आक्रमणको सुरुवात पनि गर्ने गरेका छन् ।

यता, फ्रान्सको डिफेन्स शारीरिक रूपमा निकै बलियो र गतिशील छ । आर्सनलका विलियम सलिबा अहिले विश्वकै सर्वोत्कृष्ट सेन्टर–ब्याक मानिन्छन् । लेफ्ट–ब्याकमा थिओ हर्नान्डेजको गति यति तीव्र छ कि उनी एकैछिनमा विङ्गर बनेर क्रस निकाल्न सक्छन् । बार्सिलोनाका जुल्स कुन्डे र लिभरपुलका इब्राहिमा कोनाते पनि विश्वस्तरीय डिफेन्डर हुन् ।

मिडफिल्ड त स्पेनको संसारकै बेस्ट हो, जहाँ ब्यालोन डी’ओर विजेता रोड्रि खेल नियन्त्रण गर्ने मास्टरमाइन्ड हुन् । पेड्रि, गाभी र डानी ओल्मोको खुट्टामा बल परेपछि विपक्षीले खोस्नै सक्दैनन् । तर स्पेनको एउटै टाउको दुखाई ‘फिनिसिङ’ हो, बारम्बार सट हान्दा पनि गोल निकाल्न उनीहरूलाई गाह्रो परिरहेको छ ।

यता, फ्रान्सको मिडफिल्डमा पनि त्यस्तै कमजोर त छैन । एनगोलो कान्टेजस्ता उत्कृष्ट खेलाडी छन्, जसको पहिचान नै विपक्षीको खुट्टाबाट बल खोस्नु र खेलको गति नियन्त्रण गर्नु हो । फ्रान्सका अर्का ठूला भरोसा म्यानचेस्टर सिटीका प्लेमेकर रायान चेर्की र पीएसजीका वारेन जिएर एमेरी हुन् । तर, स्पेनका मिडफिल्डरसँग तुलना गर्दा फ्रान्सको मिडफिल्ड सिर्जनशीलतामा केही कमजोर देखिन्छ ।

फरवार्ड लाइनको कुरा गर्ने हो भने स्पेनको आक्रमणको मुख्य हतियार दुई युवा विङ्गर हुन् । १९ वर्षका लामिन यामाल र तीव्र गतिका निको विलियम्सले जुनसुकै डिफेन्सलाई छिनभरमै ध्वस्त पार्न सक्छन् । उनीहरूको ड्रिब्लिङ र गति फ्रान्सका लागि ठूलो चुनौती हुनेछ । साथै, रियल सोसिडाडका कप्तान माइकल ओयारजाबललाई नजरअन्दाज गर्न मिल्दैन, जसले जारी विश्वकपमा ४ गोल गर्दै स्पेनका लागि शीर्ष गोलकर्ता बनेका छन् । यता फ्रान्सको फरवार्ड लाइन भने साँच्चै नै डरलाग्दो छ ।

कप्तान किलियन एम्बाप्पे यस विश्वकपमा ८ गोलसहित गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् । उनको गति र फिनिसिङको अगाडि विश्वका कुनै पनि डिफेन्डर टिक्क गाह्रो हुन्छ । फ्रान्ससँग एम्बाप्पे, ओस्मान डेम्बेले र माइकल ओलिसेजस्ता रफ्तारका बादशाह छन् । काउन्टर–अट्याकमा यी तीन जनाले बल पाए भने विपक्षी डिफेन्सलाई सास फेर्ने फुर्सद हुँदैन । फ्रान्सको विशेषता के हो भने एउटा स्ट्राइकर रोकिए अर्को चम्किन्छ । यदि यी तीनै जनाको दिन खराब भए पनि बेन्चबाट डिजिरे डुए र ब्राडली बारकोला जस्ता खेलाडी आउन सक्छन् । अर्थात्, फ्रान्ससँग प्लान ए, बी र सी सबै तयार छ ।

यो खेल फुटबलका दुई उदीयमान र स्थापित स्टारहरू किलियन एम्बाप्पे र लामिन यामलबीचको भिडन्त पनि हो । यी दुई खेलाडीको टकराव स्पेनिस ला लिगा, युरोकप र नेसन्स लिग हुँदै अब विश्वकपको मञ्चसम्म आइपुगेको छ । विगतका भेटहरूमा समग्र रूपमा यामल हाबी देखिए पनि विश्वकपको ऐतिहासिक तथ्याङ्कलाई हेर्ने हो भने एम्बाप्पेले सधैँ उत्कृष्ट र निर्णायक प्रदर्शन गर्दै आएका छन् । त्यसैले पनि यो खेललाई यी दुई स्टारहरूमध्ये कसको वर्चस्व रहनेछ भन्ने प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ ।

खेल सुरु हुनुअघि नै युवा स्टार यामलले फ्रान्सलाई चेतावनी दिँदै मनोवैज्ञानिक दबाब सिर्जना गरिसकेका छन् । यसअघि युरोकपमा फ्रान्सलाई प्रतियोगिताबाट बाहिर पठाउने टोली स्पेन नै भएकाले फ्रान्स उनीहरूसँग डराउनुपर्ने दाबी यामलको छ । उनले भनेका छन्, “मेरो विचारमा, यदि फ्रान्सले कसैसँग डराउनुपर्छ भने त्यो हामीसँग नै हो । किनभने यसअघि पनि उनीहरूलाई घर फर्काउने हामी नै थियौँ र हामी कसैसँग डराउँदैनौँ । यो स्पष्ट छ कि हामी दुवै विश्वस्तरीय राष्ट्रिय टोली हौँ र मेरा लागि फ्रान्स सर्वश्रेष्ठमध्ये एक हो । अब मैदानमा के हुन्छ, त्यो खेलले नै देखाउनेछ ।’

यता फ्रान्सका कप्तान किलियन एम्बाप्पेले पनि आगामी चुनौती निकै कठिन रहेको स्वीकारेका छन् । उनले भनेका छन् ‘हामी सेमिफाइनलमा पुग्दा खुसी छौं । तर हाम्रो लक्ष्य अझ पूरा भएको छैन । अब अझ कठिन परीक्षा बाँकी छ र त्यसका लागि हामी तयार छौं ।’

ऐतिहासिक तथ्यलाई केलाउँदा यी दुई देशबीच भएका कुल ३८ भिडन्तमा स्पेनले १८ र फ्रान्सले १३ खेल जितेका छन् । विश्वकपको इतिहासमा भने फ्रान्स बलियो देखिन्छ, जसले सन् २००६ को विश्वकपमा जिनेदिन जिदानको कप्तानीमा स्पेनलाई ३–१ ले पराजित गरेको थियो । तर, रिसेन्ट फर्मलाई हेर्ने हो भने स्पेन निकै बलियो स्थितिमा छ । उसले २०२४ को युरोकप र २०२५ को नेसन्स लिगमा फ्रान्सलाई स्तब्ध पारेको थियो । त्यसैले फ्रान्स आज मैदान उत्रिँदा ती पुराना हारहरूको बदला लिने दाउमा हुनेछ ।

यो खेलको अर्को पाटो पनि उत्तिकै रोचक छ । फ्रान्स लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुग्ने ऐतिहासिक दाउमा छ । यदि फ्रान्स सफल भयो भने जर्मनी र ब्राजिलपछि लगातार तीन विश्वकप फाइनल खेल्ने दुर्लभ टोली बन्नेछ । अर्कोतर्फ, स्पेन सन् २०१० को ऐतिहासिक जितपछि पहिलोपटक विश्वकपको फाइनलमा पुग्ने सुनौलो अवसरको खोजीमा छ । दुवै टोलीका प्रशिक्षकका लागि सबैभन्दा ठूलो राहतको कुरा के छ भने कुनै पनि मुख्य खेलाडी चोट वा निलम्बनका कारण बाहिर छैनन् । अर्थात्, दुवै टोली आफ्नो पूर्ण शक्ति र उत्कृष्ट सेटका साथ मैदानमा ओर्लिनेछन् ।

तर, फुटबलमा केवल तथ्याङ्क र इतिहासले मात्र जित सुनिश्चित गर्दैन । ९० मिनेटको खेलमा देखिने एउटा रातो कार्ड, एउटा सानो गल्ती वा कुनै खेलाडीको जादुयी गोलले क्षणभरमै खेलको परिणाम बदल्न सक्छ । अब हेर्न बाँकी यही छ- आज रातिको खेलमा डिफेन्सले इतिहास रच्नेछ कि आक्रमणले फाइनलको टिकट काट्नेछ ! तपाईंलाई के लाग्छ, यस पटक कुन टोली फाइनलमा पुग्ला ?

प्रतिक्रिया दिनुहोस्