काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग विभिन्न तहबाट विरोध भइरहेको छ । लुम्बिनी बचाउ महाअभियानले आनीको नियुक्ति बदर गर्न माग गर्दै आज दिउँसो १ बजे लुम्बिनीको पर्साचोकमा विरोध प्रदर्शन गर्ने भएको छ । महाअभियानले नियुक्ति बदर नहुँदासम्म चरणबद्ध आन्दोलन जारी राख्ने संयोजक अक्रम खानले चेतावनी दिएका छन् ।

डोल्माको नागरिकता र सम्पत्तिको वैधताबारे प्रश्न उठाउँदै विभिन्न सङ्घसंस्थाले नियुक्ति बदरको माग गर्दै आएका छन् । सुरुमा लुम्बिनी बचाउ महाअभियानले डोल्माको नियुक्तिको विरोध जनाउँदै आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको थियो । त्यसपछि कपिलवस्तु–तिलौराकोट सङ्घर्ष समितिले पनि डोल्माको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सरकारलाई निर्णय सच्याउन माग गरेको थियो ।
‘आनीको नियुक्ति बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दाको भावना, चाहना र स्वाभिमानमाथिको आघात भएको उनीहरुको भनाइ रहेको छ ।
सङ्घर्ष समितिले सन् २०१९ मा हङकङबाट स्रोत नखुलेको १६ लाख ४९ हजार ९४० अमेरिकी डलर (करिब १८ करोड ३१ लाख रुपैयाँ) डोल्माको खातामा आएको देखिएपछि नेपाल राष्ट्र बैङ्क र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको बैङ्क खाता रोक्का गरी छानबिन अघि बढाएको तर राजनीतिक शक्ति र दबाबको प्रयोग गरी अनुसन्धान प्रभावित पार्नु वित्तीय सुशासनका दृष्टिले अत्यन्तै चिन्ताजनक रहेको उल्लेख गरेको छ ।
यस्तै आनीले आफ्नै आत्मकथा ‘फूलको आँखामा’ पुस्तकमा आफ्ना आमा–बुबा तिब्बती शरणार्थीका रूपमा नेपाल आएको स्वीकार गरिएको र नक्कली बुबा खडा गरी किर्ते विवरणका आधारमा वंशजको नागरिकता लिएको गम्भीर प्रश्न सार्वजनिक भएको समेत उल्लेख गरेको छ ।
आनीको नागरिकता र ठूलो परिमाणको रकम अपारदर्शी ढङ्गले विदेशबाट उनको खातामा आउनु दुवै विषयले उनी विवादमा तानिएकी हुन् ।















