काठमाडौं । फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न रोमाञ्चक पहिलो सेमिफाइनल खेलमा फ्रान्समाथि २–० को सानदार जित निकाल्दै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुग्न सफल भएको हो ।

स्पेनको जितमा मिकेल ओयार्जाबल र पेड्रो पोरोले एक–एक गोलको योगदान दिए । खेलको सुरुवातमै आक्रामक रणनीति अपनाएको स्पेनले २२औं मिनेटमा पेनाल्टीमार्फत खेलमा सुरुवाती अग्रता लिएको थियो । २०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो, जसलाई मिकेल ओयार्जाबलले सहजै गोलमा परिणत गरे ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा पनि आफ्नो दबाब कायमै राख्यो । खेलको ५८औं मिनेटमा दानी ओल्मोको उत्कृष्ट पास (असिस्ट) लाई सदुपयोग गर्दै पेड्रोले गोल गरेपछि स्पेनको अग्रता दोब्बर भएको थियो । त्यसपछि खेलमा दुवै टोलीबाट थप गोल हुन सकेन र स्पेन २–० ले विजयी हुँदै फाइनलतर्फ अघि बढ्यो ।
जारी विश्वकपमा निकै बलियो र उपाधि दाबेदार मानिएको फ्रान्स सेमिफाइनलमा भने स्पेनसामु निरिह देखियो । फ्रान्सेली टोली बल पोजिसन र फिनिसिङ दुवै पक्षमा चुक्दा पराजय भोग्न बाध्य भयो । सन् २०१० को विश्वविजेता स्पेन त्यसयता पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो ।
अब स्पेनले उपाधिका लागि भोलि राति हुने अर्जेन्टिना र इङ्गल्याण्डबीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।














