काठमाडौं । नेपालले सिधै सन् २०२८ को टी-२० विश्वकपको ग्लोबल छनोट खेल्ने भएको छ ।

आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । यही समूहमा परेकाले नेपालले एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन ।
टी–२० विश्वकप २०२६ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । त्यसैले टोलीले स्वतः विश्वकपमा स्थान बनाउन नसके पनि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित गरेको हो ।
ग्लोबल छनोटमा क्षेत्रीय छनोटबाट आउने आठ टोली थपिनेछन् । अफ्रिका, एसिया र युरोपबाट दुई–दुई तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली ग्लोबल छनोटमा पुग्नेछन् ।
ग्लोबल छनोटपछि प्रत्येक क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक तथा समग्रमा उत्कृष्ट थप तीन टोली गरी सात टोलीले टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन् । आईसीसीले यसका लागि न्यूनतम प्रदर्शनको मापदण्ड पनि लागु गर्ने जनाएको छ ।
यसअघि विश्वकप छनोटका लागि एसिया–इस्ट एसिया प्यासिफिक, युरोपियन, अमेरिकन र अफ्रिकन छनोट हुँदै आएकोमा ग्लोबल छनोट फेरि हुन लागेको हो ।














