काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध दुई असिस्ट (गोलका लागि पास) गर्दै गोल्डेन बुट होडको शीर्ष स्थानमा उक्लिएका छन् ।

अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्ध २-१ को पुनरागमन जित निकाल्दा मेसीले दुवै गोलका लागि सुन्दर पास उपलब्ध गराएका थिए ।
अर्जेन्टिनालाई लगातार दोस्रोपटक फाइनलमा पुर्याउँदै उपाधि रक्षा अभियानलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेलेका मेसी व्यक्तिगत अवार्डतर्फ पनि मुख्य दाबेदार बनेका हुन् ।
इंग्ल्यान्डविरुद्ध आफैंले गोल गर्न नसके पनि मेसीले दुई असिस्ट गरेपछि फ्रान्सका किलियन एमबाप्पेलाई असिस्ट संख्यामा पछि पार्दै सर्वाधिक गोलकर्ताको सूचीमा अग्रता बनाएका हुन् ।
जारी विश्वकपमा मेसी र एमबाप्पे दुवैले ७ खेल खेल्दै समान ८ गोल गरेका छन् । तर, मेसीको असिस्ट संख्या ४ पुग्दा एमबाप्पेको ३ मात्रै छ ।
यस्तै, ७ गोलसहित तेस्रो स्थानमा रहेका नर्वेका एर्लिङ हालान्डको टोली पनि विश्वकपबाट बाहिरिसकेको छ । सर्वाधिक गोल गर्ने सूचीमा इंग्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङघम समान ६ गोलका साथ बलियो अवस्थामा थिए । तर, सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएसँगै दुवैको गोल्डेन बुट दाबेदारी समाप्त भएको छ । यस्तै ५ गोल गरेका फ्रान्सका उसमान डेम्बेले पनि यो होडबाट बाहिरिइसकेका छन् ।
फाइनल पुगेको स्पेनका मिकेल ओयाराज्याबल ५ गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीमा सातौं स्थानमा छन् । अब फाइनलमा थप ५ गोल गरे मात्र ओयाराज्याबलले मेसीको बराबरी गर्नेछन्, जुन निकै कठिन देखिन्छ । अन्यथा, मेसी सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्ने लगभग पक्का छ । यो उपाधि जितेमा मेसीले आफ्नो खेल जीवनमा पहिलोपटक विश्वकपको गोल्डेन बुट हात पार्नेछन् ।
सन् २०२२ मा अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि दिलाएका मेसीले यसअघि दुई पटक ‘गोल्डेन बल’ (सर्वोत्कृष्ट खेलाडी) अवार्ड जितिसकेका छन् । सन् २०१४ मा अर्जेन्टिनालाई फाइनल पुर्याउँदा उत्कृष्ट खेलाडी बन्दै मेसीले पहिलोपटक गोल्डेन बल जितेका थिए भने २०२२ मा उपाधि जित्दा दोस्रोपटक उक्त अवार्ड हात पारे । मेसी विश्वकपको इतिहासमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने पहिलो र एकमात्र खेलाडी हुन् ।
यस विश्वकपमा पनि अर्जेन्टिनालाई फाइनलमा डोर्याएका मेसी पुनः गोल्डेन बलको मुख्य दाबेदारका रूपमा अगाडि आएका छन् । उनी अर्जेन्टिनालाई ६४ वर्षपछि लगातार दोस्रो पटक विश्वकपको उपाधि जिताउने ऐतिहासिक लक्ष्यमा छन् ।














