काठमाडमौं । सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसदीय दलको कार्यालयमा बसेको हो । बैठकमा सत्ता समीकरण र बजेटसम्बन्धी विषयमा छलफल गर्न लागिएको हो ।

बुधवार मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेकपासँग सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।
मुख्यमन्त्री शाहले चालु बजेट पारित गर्न सहयोग गर्न र त्यसपछि सत्ता सहकार्य गर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव नेकपा मान्न तयार छैन । यद्यपि दुवै पक्षका नेताबीच सत्ता समीकरणबारे अनौपचारिक छलफल भने जारी छ ।
यसअघि एमालेले आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असहमति जनाउँदै खर्च कटौतीको प्रस्ताव दर्ता गरेको थियो । सोही विषयलाई लिएर कांग्रेस र एमालेबीचको विवाद चर्किएपछि दुवै दलको सत्ता सहकार्य अन्त्य भएको हो ।
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले बिहीबार राति १२ बजेभित्र आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।
यदि निर्धारित समयभित्र बजेट पारित हुन नसके र सरकारले पेश्की बजेटसमेत ल्याउन नसके प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना हुने जोखिम रहेको छ ।














