Logo
Logo

स्पेनको शाही परिवार विश्वकपको फाइनल हेर्न स्टेडियम जाँदै


567
Shares

काठमाडौं । फिफा विश्वकपको उपाधिका लागि आजराति हुने अर्जेन्टिना र स्पेनबीचको बहुप्रतीक्षित फाइनल खेल हेर्न स्पेनको शाही परिवार अमेरिकाको न्यू जर्सी पुग्ने भएको छ ।

The current image has no alternative text. The file name is: spain-rajpariyar.jpg

स्पेनको शाही दरबारका अनुसार राजा फेलिप छैटौँ, रानी लेतिसिया तथा राजकुमारी लियोनोर र सोफिया फाइनल खेल प्रत्यक्ष हेर्न मैदानमा उपस्थित हुनेछन् । स्पेनले दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँदा शाही परिवारको उपस्थितिले टोलीको मनोबल थप उच्च हुने अपेक्षा गरिएको छ ।

यसअघि टेक्सासमा भएको सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पहिलो हाफमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थप्दै जित सुनिश्चित गरेका थिए। दुई पटकको विश्वविजेता फ्रान्सले खेलमा पुनरागमन गर्ने प्रयास गरे पनि गोल गर्न सकेन ।

सेमिफाइनलपछि स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले टोलीको सफलताको श्रेय विगत करिब चार वर्षदेखि निरन्तर अपनाइएको रणनीति, खेलाडीहरूको समर्पण र उत्कृष्ट टोलीगत प्रदर्शनलाई दिएका थिए ।

स्पेन सन् २०१० पछि दोस्रो पटक विश्वकप उपाधि जित्ने अभियानमा छ भने साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो उपाधि उचाल्ने लक्ष्यमा रहेको छ। फाइनलमा विश्व फुटबलका दुई फरक शैली भएका टोलीबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

स्पेनसँग युवा स्टार लामिन यमाल छन् भने अर्जेन्टिनाको नेतृत्व अनुभवी कप्तान लियोनेल मेसीले गरिरहेका छन् । यी दुई टोलीबीच यसअघि दोहामा आयोजना हुने तय भएको फाइनलिसिमा प्रतियोगिता पश्चिम एसियामा जारी युद्धका कारण हुन सकेको थिएन । अब भने दुवै टोली विश्वकपको उपाधिका लागि आमनेसामने हुँदैछन् ।

स्पेनका राजा फेलिप यसअघि जुन महिनामा मेक्सिको पुगेर स्पेन र उरुग्वेबीचको समूह चरणको खेल पनि प्रत्यक्ष हेरेका थिए । त्यस खेलमा स्पेनले उरुग्वेलाई १-० ले पराजित गरेको थियो। शाही परिवार विभिन्न सार्वजनिक कार्यक्रम र खेलकुद प्रतियोगितामा नियमित रूपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्