काठमाडौँ । स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज कासान्ते (रोड्री)ले फिफा विश्वकप २०२६ को ‘गोल्डेन बल’ अवार्ड जितेका छन्।

स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भूमिका खेलेका रोड्री ‘प्लेयर अफ दि टुर्नामेन्ट’ बन्दै एडिडास गोल्डेन बल जित्न सफल भएका हुन्। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पारे।
रोड्रीले स्पेनको कप्तानी सम्हाल्दै मैदानमा मिडफिल्डको नेतृत्व गर्ने, बल नियन्त्रण (कन्ट्रोल) गर्ने र अट्याकिङमा समेत महत्त्वपूर्ण योगदान दिएका थिए।
रोड्रीको कप्तानीमा रहेको स्पेनले सोमबार बिहान भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको हो।
सन् २०१८ मा स्पेनको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोड्री स्पेनलाई विश्वकप जिताउने दोस्रो कप्तान बनेका छन्। यसअघि सन् २०१० मा गोलकिपर इकर क्यासियसको कप्तानीमा स्पेनले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।
गोल गर्नुभन्दा पनि रोड्री टिमको मिडफिल्डमा मुख्य प्लेमेकरका रूपमा रहने गर्छन्। उनले सन् २०२४ मा विश्वकै उत्कृष्ट खेलाडीलाई दिइने ‘बालोन डि’ओर’ अवार्ड पनि जितेका थिए।
म्यानचेस्टर सिटीबाट क्लब फुटबल खेल्ने रोड्री फिफा विश्वकप, युइएफए च्याम्पियन्स लिग र बालोन डि’ओर तीनै उपाधि जित्ने विश्वका ११ खेलाडीको सूचीमा समावेश भएका छन्।
यसअघि सन् २०२४ को युरो कप स्पेनले जित्दा पनि रोड्री उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्डबाट सम्मानित भएका थिए।














