काठमाडौं । पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको छ ।

विभागको मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको जानकारी दिएकी छन् । त्यस अवधिमा मधेस प्रदेशमा भने अपेक्षाकृत कम वर्षा भएको छ ।
विभागका अनुसार, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी भारी वर्षाको सम्भावना छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा पनि भारी बर्षा हुने जनाइएको छ ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना भएकाले बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।














