काठमाडौं । यो मौसममा कैलाश मानसरोवर जाने भारतीय पर्यटकहरुको निकै घुइँचो लाग्ने गरेको छ । कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकहरुले नेपालका विभिन्न ट्राभल एजेन्टहरुमार्फत प्याकेज टुर खरिद गर्ने गरेका छन् । मानसरोवर जाने भारतीय यात्रुहरुले सम्पूर्ण कागजात आफूसँगै लिएर जाँदा पनि उत्तरी नाकामा भारतीय पर्यटकहरुलाई नेपाल प्रहरीले अनेकौं बहानामा दुःख दिने गरेका कारण भारतीय पर्यटकहरुले अनावश्यक दुःखकष्ट भोग्नुपरेको छ ।

समाचारका अनुसार गत असार ८ गते कैलाश मानसरोवर जान हिँडेका ३० जना भारतीय पर्यटकहरुलाई रसुवाको बेत्राबती प्रहरीले अनावश्यक रुपमा दुःख दिँदा उनीहरु बेखर्ची र अलपत्र परेका थिए । तर पछि ट्राभल एजेन्टले उनीहरुलाई सहयोग गरेर सहजीकरण गरेको थियो । तर, प्रहरीले उनीहरुको साथमा रहेको प्रतिव्यक्ति १७ सय डलर खोसेर अहिलेसम्म फिर्ता दिएको छैन । उल्टै ट्राभल एजेन्सीका कर्मचारीलाई थुनेर दुःख दिएको छ ।
समाचार स्रोतका अनुसार तिब्बतको बाटोबाट मानसरोवर हिँडेका ती भारतीय पर्यटकले बोकेको विदेशी मुद्रा बेत्राबती प्रहरी चौकीले बरामद गरेका कारण उनीहरु बेखर्ची मात्र भएनन्, बाटोमै अलपत्र पर्ने अवस्था आयो । ती पर्यटकहरुले तिब्बत मानसरोवर जानकै लागि प्रत्येक व्यक्तिले १७१० अमेरिकी डलर बोकेका थिए । त्यो रकम प्रहरीले जफत गर्दा उनीहरु समस्यामा परेका हुन् ।
३० जना भारतीय पर्यटकबाट करिब ४३ हजार अमेरिकी डलर उनीहरुको साथबाट प्रहरीले बरामद गरेको थियो । जबकि, उनीहरुसँग उक्त डलर सटही गरेको बैंक कागजात समेत थियो । उक्त रकम अहिलेसम्म फर्काएको छैन भने उनीसँगै गएका कैलाश ट्राभलका स्टाफ सुशील गुरुङ अहिलेसम्म प्रहरी हिरासतमै छन् । कैलाश मानसरोवर जाने भारतीय पर्यटकहरुमाथि बारम्बार नेपाल प्रहरीले दुव्र्यवहार गरेपछि नेपालको छविमाथि नै आँच आउन थालेको छ ।














