
राज्यद्वारा प्रताडित कुनै पनि देशको नागरिकले विद्रोहस्वरुप आत्मदाहको बाटो रोज्नु भनेको सामान्य घटना होइन । यो राज्यविरुद्धको विद्रोह हो, जुन विद्रोहले सत्ता संकट निम्त्याउन सक्छ भन्ने कुराको उदाहरण ट्युनिसियालगायतका देशहरूलाई लिन सकिन्छ ।
जहाँ सन् २०१० मा ट्युनिसियाका प्रहरीले एक जना मोहम्मद बौअजिज भन्ने २६ वर्षीय युवा, जो ठेलामा सामान राखेर जीवन गुजारा चलाइरहेका थिए, ती युवाको ठेला खोसेर उनीमाथि राज्यले ज्यादती गरेपछि उनले आत्मदाहको बाटो रोजेका थिए । बौआजिजको आत्मदाहको घटना ट्युनिसियाको सत्तालाई यति महँगो प¥यो कि त्यहाँका राष्ट्रपति जीन एल अविद्दिन अलीले देशै छाडेर भाग्नुपर्ने अवस्था आयो ।
नेपालमा पनि युवा बेरोजगार बढेको बढ्यै छ । भ्रष्टाचारीमाथि कारबाहीको नाटक मञ्चन गरिएको छ । जेनजी विद्रोहपछि सत्तामा आएको बालेन सरकार निरंकुश ढंगले अगाडि बढ्न खोजिरहेको छ । ‘पहिला थुन अनि सुन’को नीतिले कानुनी राज्यलाई चुनौती दिएको छ । भुईँ मान्छेको पीडा सुन्न छाडिएको छ । विगत ३५ वर्षसम्म पुराना दलले लुटतन्त्र मच्चाए भन्ने भाष्य खडा गरेर नयाँ जगमा ‘अल्लारे’ युवाहरू शासन सत्तामा छन् । युवा नेतृत्वको सरकारप्रति युवाहरूकै ठूलो आशा र भरोसा छ । यो सरकारलाई पनि असफल हुने छुट छैन ।
यस्तो परिस्थितिमा गणेश नेपालीको आत्मदाहको घटनालाई सामान्य रूपमा हेरिनु हुन्न, किनभने यो सरकार गणेश नेपालीहरूकै संघर्षको बलिदानीमा स्थापित भएको हो । लाखौँ युवाहरूको भविष्य यो सरकारसँग गाँसिएको छ, हिजो अरूले बिगारे अब हामीले बनाउँछौँ भन्ने भाष्य सरकारले खडा गरेर जेनजी विद्रोह भयो ।
हिजो ३५ वर्षदेखि सत्तामा रहेका दलहरूले देश बिगारे भनेर सामाजिक सञ्जालभरि तिनको सत्तोसराप गरियो र हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आयो । यो घटना भएको एक वर्ष बित्दा नबित्दै देशमा ठूलै राजनीतिक उथलपुथल भयो । हिजो जो युवाहरू यो उथलपुथलमा सरिक भएका थिए, आज उनीहरू नै यो सरकारबाट प्रताडित हुनुपर्ने अवस्था आउनु भनेको दुःखद कुरा हो ।
यो पीडा प्रधानमन्त्री बालेन साहले नबुझेका होइनन्, हिजो संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्दा तत्कालीन मेयर बालेन साहले फेसबुकमा यो घटनालाई राज्यको असफलतासँग जोडेका थिए । प्रेमप्रसाद र गणेश नेपालीको घटना एउटैजस्तो भए पनि भर्खरै सत्तामा आएका बालेनलाई यो घटनासँग जोडेर राज्यको असफलता हो भनेर निष्कर्ष निकाल्नु हतार होला । तर, कुरा के हो भने देश बनाउने सपना बोकेका युवाहरूको राज्य अभिभावक बन्न किन सकेन ? उनीहरूलाई आशा र भरोसा जगाउन किन सकेन ? किन युवाहरूले राज्यको दमन सहन नसकेर दिनदिनै आत्महत्याको बाटो रोज्नुप¥यो ? यस विषयमा सरकार गम्भीर बन्नै पर्छ । ‘पपुलिज्म’ले समाधान दिन सक्दैन ।
समाधान दिन जेनजी विद्रोहमा हाँसाहाँसी बलिदानी दिने युवाहरूको सपना के थियो, त्यसको गहिराइसम्म पुग्नुपर्छ । हिजो जसले यो सरकारलाई काँधमा बोकेर सत्तामा पु¥याएका थिए, तिनै युवाहरूले फेरि अर्को विद्रोह गरेर यो सरकारलाई सत्ताच्युत नगर्लान् भन्न सकिन्न । सरकारको यस्ता गतिविधिप्रति रास्वपा भने गम्भीर भएको समाचार बाहिर आएको छ । पार्टी र सरकारबीच सानो आगोको झिल्को देखिएको छ, त्यही झिल्को भोलि आगो बनेर दन्कन समय लाग्दैन ।
जेनजी विद्रोह चानचुने विद्रोह होइन, विश्वका मै हुँ भन्ने निरंकुश तानाशाही शासकहरूलाई घुँडा टेकाउने शक्ति नै युवा शक्ति हो । यो कुरालाई मनन गर्दै बालेन सरकारले आफ्ना कमी, कमजोरी सच्याउँदै अगाडि बढ्यो भने देश बनाउने आशा जाग्ला, अन्यथा युवाहरूको निराशाले जन्माउने विद्रोह भयानक हुने कुरामा सरकार सचेत हुनै पर्छ ।














