Logo
Logo

अमेरिकाप्रति अविश्वास, चीनलाई भने लाभैलाभ


डा. दीपेश केसी

0
Shares


विश्वभर अमेरिकालाई भन्दा चीनलाई सकारात्मक दृष्टिकोणले हेर्नेको संख्या बढेको रिपोर्ट सार्वजनिक भएसँगै नयाँ विमर्श चलेको छ । के अमेरिकी कठोर नीतिका कारण चीनले विश्वभर लाभ लिइरहेको छ ? अमेरिकाको छवि बिग्रँदाको रिक्ततामा चीन पसेको हो ? विश्व व्यवस्थामा आएको परिवर्तनले कसको प्रभाव बढ्छ र कसको घट्छ ? यो प्रश्नको उत्तर भविष्यको विश्व राजनीतिमा आउने परिणामबाट मात्र आउँछ । तर, केही यस्ता सम्भवनाहरु छन् जसले कतिपय शक्ति उकालो लागिरहँदा कतिपय ओरालो लागिरहेछन् ।

वासिङ्टन केन्द्र रहेको पिऊ रिसर्च सेन्टरले सन् २०२६ को जुलाईको मध्यतिर सार्वजनिक गरेको अध्ययन अनुसार चीनले अमेरिकालाई यस मामलामा उछिनेको हो । विश्वका ३६ देशहरूलाई अध्ययनको क्षेत्र बनाइएकोमा चीनमा राष्ट्रपति सी चिनफिङका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढी अनुकूल परिस्थिति बनेको देखिन्छ । जसअनुसार चीनले ३६ मध्ये २५ देशमा अमेरिकाको भन्दा सकारात्मक छवि राख्न सकेको देखिन्छ । रोचक त यो छ कि अमेरिकाको छिमेकी देशहरू क्यानडा र मेक्सिकोसमेत चीनप्रति बढी सकारात्मक रहेको छ ।

अमेरिकाका लागि पोल्यान्ड, फिलिपिन्स, दक्षिण कोरिया, भारत, जापान र इजरायलमा अनुकूल अवस्था रहेको छ । यी देशहरूमा चीनलाई हेर्ने दृष्टिकोण विगत देखि नै सकारात्मक थिएन । यसकारण अमेरिका उनीहरूका लागि चीनभन्दा भरपर्दो शक्ति नै हो । रोचक त यो छ कि अमेरिकाको सबैभन्दा बढी प्रभाव देखिएका पाकिस्तान, बङ्गलादेश, श्रीलंका र सिंगापुरमा समेत चीनलाई हेर्ने दृष्टिकोण निकै सकारात्मक रहेको अध्ययनले देखाएको छ । त्यहाँ अमेरिकाप्रति बढी नकारात्मक धारणा छ । अध्ययन गरिएका देशहरूमध्ये अधिकांशमा चीनका राष्ट्रपति सी चिनफिङप्रति बढी विश्वास देखिएको छ ।

नाटोका पूर्व महासचिव एन्डर्स फोग रासमुसेनले स्थापना गरेको ‘द एलाइन्स अफ डेमोक्रेसी’ले सन् २०२६ को मे महिनामा सार्वजनिक गरेको अध्ययनमा अमेरिकाको छविमा परिवर्तन हुँदै आएको बताइएको छ । यसको मुख्य कारण नाटो देशहरूसँग टकराब, व्यापारिक मित्रदेशहरुलाई टारिफ र युक्रेन मामलामा अमेरिकी भूमिकामाथि उठेको प्रश्नलाई मुख्य कारण भनिएको छ । विगतमा अमेरिकाको पहिचान विश्वमा स्थिरता बनाउने शक्तिका रूपमा रहेको भए पनि अस्थिरता बढाएको अध्ययनले भनेको छ । जसका कारण अमेरिकाप्रति अविश्वासहरू बढ्न थालेका छन् ।

अमेरिकाप्रति अविश्वास किन ?
२०औँ शताब्दीको मध्यतिर विश्व शक्तिको रूपमा उदाएको अमेरिका अझै संसारका धेरै मानिसहरूको सपनाको देश हो । अमेरिकी जीवन जिउने सपना धेरैमा हुन्छ । विश्व शक्ति हुनु, व्यक्तिगत स्वतन्त्रता र आर्थिक अवसरका कारण अमेरिका आकर्षण बनेको छ । तर, विश्व व्यवस्थामा आएको परिवर्तनसँगै अमेरिकी शासकको रणनीतिले धेरै मामलामा परिवर्तनहरू आएका छन् । विशेषगरी डोनाल्ड ट्रम्पको अमेरिकालाई फेरि महान् बनाउने नारालाई साकार बनाउनकै लागि चालिएका कठोर कदमहरूले विश्व राजनीतिलाई तरङ्गित पारेको छ । त्यसमध्ये एक हो इरान युद्ध ।

अमेरिकाले इरानमाथि युद्ध गरेर आर्थिक लाभ लिन खोजेको डोनाल्ड ट्रम्प स्वयंले खुलेरै बोलेका छन् । उनले युद्धबाट कच्चा तेल र ग्यासको मूल्य पाएको बताएका छन् । उनले खाडीका धनी देशहरूलाई हतियार बेचेर अर्को लाभ लिएका छन् । व्यापारीकै शैलीमा लाभ लिने नाममा युद्धमा धेरै मानिसहरूले ज्यान गुमाएका छन् र खर्बौँ डलरको पूर्वाधारको क्षति पनि युद्ध सँगसँगै भएको छ । कच्चा तेलको मूल्य बढ्दा आयातकर्ता देशहरू भारत र चीनसहित आसपासका देशहरूले ठूलो आर्थिक भार बोक्नुपरेको छ । यसले अमेरिकालाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ । अमेरिकाप्रति अविश्वास बढ्दो छ संसारमा ।

भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरो अमेरिकाको योजनावद्ध हमलामा जीवितै समातिए । उनलाई अमेरिकामा बन्दी बनाएर राखिएको छ । यो घटनापछि अमेरिकाले भेनेजुएलाको तेलको स्रोतमा नियन्त्रण बनाएको छ । तर, सार्वभौम देशमाथिको हस्तक्षेपलाई लिएर संसारभर विरोधका आवाजहरू उठेका छन् । क्युबामा अमेरिकी कठोर नीतिले मानिसहरू ऊर्जा सङ्कटमा छन् । यी सबै नीतिका पछाडि अमेरिकाको चीन र रुससँगको टकराब पनि कारण बनेको छ । तर, ट्रम्पको शासनकालमा अमेरिकाले आफ्नो स्वार्थका लागि जुनसुकै कदम चाल्न थालेको छ ।

अमेरिकाले आफ्नो स्वार्थभन्दा बाहिर जान खोज्ने देशहरूलाई टारिफ देखि प्रतिबन्ध समेत लगाउन थालेको छ । उसले कतिपय गठबन्धनमा समेत सामेल नजिकको मित्रशक्ति भारतलाई टारिफ मात्र बढाएन रुसी तेल खरिद रोक्न अप्ठ्यारोमा पारिदियो । इरान युद्ध नहुँदै भारतलाई रुसको तेल खरिद घटाउन बाध्य पारेको अमेरिकाले युद्धपछि फेरि रुससँग तेल खरिद गर्न छूट दिएको जनायो । यो घटनालाई लिएर भारतले सिधै अमेरिकाले जता भन्यो त्यतै तेल खरिद गर्ने नभई आफ्नो हित र लाभलाई हेरेर खरिदको निर्णय लिने जवाफ दियो ।

अमेरिकाप्रति अविश्वासको अर्को मुख्य कारण हो क्षेत्रीय राजनीतिमा दोस्रो शक्तिशालीलाई साथमा लिएर पहिलोलाई अप्ठ्यारोमा पार्ने रणनीति । उसले एशियामा जापानलाई साथमा लिएर चीनलाई चुनौती दिने गरेको छ । चीनको बढ्दो प्रभावलाई बढ्न नदिन जापान र उसका निकट देशहरूलाई साथमा लिएर साउथ चाइना सीको टापुको विवादमा संलग्न भइरहेको छ ।

दक्षिण एशियामा भारतलाई रोक्न पाकिस्तानलाई साथमा लिएर अघि बढ्न खोजिरहेछ अमेरिका । जसअनुसार पाकिस्तानको शक्तिशाली सैनिक प्रमुख असिम मुनिरको २०२५ मा ट्रम्पसँगको लन्च बैठकदेखि ६८ करोड डलरको हतियार खरिदको अनुमोदन पनि हो ।
इरान युद्ध रोक्ने नाममा पाकिस्तानलाई मध्यस्थकर्ता बनायो अमेरिकाले । जबकि इरान युद्धबाट सबैभन्दा अप्ठ्यारोमा भारत परिरह्यो । इरान र ओमानको बीचमा रहेको रणनीतिक महत्वको साँघुरो समुन्द्री मार्ग स्ट्रेट अफ हर्मुजमा भारतका जहाजहरूले अवरोध खेपिरहे । उसका नाभिकहरु युद्धका दौरान मारिने र घाइते हुनेमा पर्दछन् ।

दक्षिण एशियाका देशहरूमा अमेरिकी भूमिकाबाट भएका सत्ता परिवर्तन भारतका लागि प्रतिकूल बन्यो । जसमध्ये बङ्गलादेशमा शेख हसिनालाई देश छाड्न बाध्य पारेर गठन गरिएको युनुस नेतृत्वको सरकार र त्यसले गराएको चुनावबाट बनेको तारिख रहमान नेतृत्वको सरकार भारतप्रति सकारात्मक देखिएन ।

युनुसले पूर्वोत्तर भारतका आठ राज्यहरुलाई भूपरिवेष्ठित मात्र भनेनन् भारतलाई असजिलो पार्ने नीतिहरू सारेका थिए । रहमानले त उनलाई समेत उछिनेर टिस्टा नदी परियोजनामा भारतलाई चुनौती दिँदै अभिव्यक्ति दिए । ‘चिकेन नेक’ वरपरका क्षेत्रमा भारतले चुनौती मान्दै आएको चिनियाँ कम्पनीहरूलाई बढवा दिने कदमहरू चाल्न थाले । अमेरिकी गतिविधिहरू बङ्गलादेशमा उत्तिकै बढेका छन् ।

अमेरिकाको यूरोपसँगको सम्बन्धमा समेत समस्याहरू देखिएका छन् । ट्रम्पले नाटोबाट अलग हुने अभिव्यक्ति दिँदै आएका छन् । नाटो सदस्य राष्ट्र डेनमार्कको स्वायत्त राज्य ग्रीनल्यान्डलाई कब्जामा लिने प्रयास गरे । क्यानडामाथि टारिफ लगाए । मेक्सिकोमा ड्रग्स कार्टलविरुद्धको अपरेशन गर्ने भन्दै सैनिक पठाउने सम्मको धम्की दिए । निकट छिमेकीहरूलाई ट्रम्पले जुन व्यवहार गरेका छन् । यसले पनि अविश्वास बढायो । ट्रम्प जुनसुकै कदममा नाफा र घाटा मात्र सोच्छन् भन्ने सन्देश गयो । उनको यही कदमले विश्वका अधिकांश देश र त्यहाँका निहत्था जनताले अकालमा मृत्युवरण गर्नेदेखि समस्या भोगिरहेका छन् ।

चीनलाई लाभ
अमेरिकाको कठोर नीतिको लाभ विश्वभरि चीनले उठाइरहेको छ । अध्ययनहरूले अमेरिकाको छवि धमिलिँदै जाँदा चीनले फाइदा लिइरहेको देखाएको छ । ‘पिऊ रिसर्च सेन्टर’को अध्ययनको सार यही हो । चीनले शक्तिको बलले भन्दा आर्थिक रणनीतिबाट संसारमा प्रभाव बनाइरहेको छ । चीन संसारभर प्रत्यक्ष युद्ध लडेको देखिँदैन । एसियाबाट आक्रामक अर्थ रणनीतिबाट उसले आफूलाई संसारभर फैलाइरहेको छ । अफ्रिका, ल्याटिन अमेरिकासम्म उसको व्यापार बढ्दो छ । भारतसँग सीमा विवाद र अन्य समस्यालाई थाँती राखेर व्यापार बढाइरहेको छ । जति जति अमेरिकाको छवि बिग्रँदै गएको छ, उति उति चीनले लाभ लिइरहेको छ ।

सन् २०२५ मा अन्तर्राष्ट्रिय सम्बन्धका जानकार जोसेफ नेईले ट्रम्पको नीतिले खडा गरेको रिक्ततामा प्रवेश गर्न चीन अगाडि नै तयार भइसकेको तर्क गरेका थिए । अहिले त्यस्तै भएको छ । अमेरिकी कठोर नीतिका कारण चीनले नरम नीतिमार्फत लाभ लिइरहेको छ । चीनले विश्वभरको आर्थिक वृद्धिका लागि चालिने व्यापार नीति, नवप्रवर्तन, प्रविधि र पूर्वाधार निर्माणका माध्यमले संसारभर प्रभाव बनाउँदै लगेको छ । चीनका लागि संसारका धेरै मुलुक सुरक्षित बजार बनिसकेका छन् । विश्वका विभिन्न देशमा अमेरिकी विरोधी धारणा जति–जति विकास हुँदै छ उति–उति चीन प्रभावशाली बन्दै गएको छ । अमेरिकाले आफ्ना गठबन्धनमा रहेका देशहरूको समेत विश्वास गुमाउँदै जाने अवस्था बनेपछिको लाभ चीनलाई नै भएको छ ।

प्रतिक्रिया दिनुहोस्