काठमाडौँ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख र मेकानिकल अधिकृत घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन प्रमुख (सि.डि.इ.) अनुपमा ढकाल र छौँठौँ तहका मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई साढे ७ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बोरिङ र मोटर जडानको काम सकिएपछि भुक्तानी दिने क्रममा सेवाग्राहीलाई दुःख-हैरानी दिँदै घुस माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट टोली खटिएको थियो।
उक्त टोलीले डिभिजन प्रमुख ढकाल र अधिकृत चौधरीलाई डिभिजन प्रमुखको क्वार्टरबाटै सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ र तीन थान मोबाइल फोनसमेत बरामद गरिएको अख्तियारले जनाएको छ।














