काठमाडौं । नेपाली राजनीति र अर्थतन्त्रको क्षेत्रमा एउटा ठूलो आशा गरिएको नाम थियो– डा. स्वर्णिम वाग्ले । अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरेको अनुभव र विद्वताको लेपन लागेका वाग्ले अर्थमन्त्री बन्दा धेरैले सोचेका थिए, अब देशको अर्थतन्त्रले नयाँ मोड लिनेछ । तर, विडम्बना! उनको पहिलो बजेट नै उनको राजनीतिक करियरका लागि ‘भष्मासुर’ सावित हुने संकेत देखिएको छ । आजका दिनसम्मको उनको राजनीतियात्रालाई हेर्दा उनी एउटा निरीह र ‘निकम्मा’ अर्थमन्त्रीको रूपमा चित्रित हुन पुगेका छन्, जसलाई आफ्नै सरकारले पंगु बनाइरहेका छन् ।

स्वर्णिम वाग्लेको बौद्धिक क्षमताको चर्चा निकै भयो, तर बजेट निर्माणको प्रक्रिया र त्यसपछिका घटनाक्रमले उनको त्यो बौद्धिकता केवल ‘ड्रइङ रुम’ को गफमा सीमित देखियो । नेपाली जनताको भोक, रोग र शोकलाई सम्बोधन गर्नुपर्ने बजेटले उल्टै सर्वसाधारणको ढाड सेक्ने काम गर्यो । विशेषगरी स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा लगाइएको कर र पछि त्यसलाई फिर्ता लिनुपर्ने बाध्यताले के देखाउँछ भने, यो बजेट कुनै अध्ययन र दूरदर्शिताका साथ होइन, नेपालको अवस्था अध्ययन नै नगरी ल्याइएको थियो । १०० दिन पनि टिकन नसक्ने गरी करका दरहरूमा यु–टर्न लिनुले अर्थमन्त्रीको असफलता र वैचारिक टाटपल्टाईलाई छताछुल्ल पारेको छ ।
अहिलेको राजनीतिक परिदृश्यमा अर्थ मन्त्रालयको अस्तित्वमाथि नै प्रश्न उठेको छ । अर्थतन्त्रको बागडोर सम्हाल्नुपर्ने मान्छे अर्थमन्त्री हुन्, तर यहाँ अर्कै दृश्य देखिँदैछ । प्रधानमन्त्री बालेन साहले अर्थमन्त्रीको क्षेत्राधिकारलाई यसरी मिचिदिएका छन् कि अहिले वाग्ले स्वयं उनको छायाँमा बिलाएका छन् । बजेट निर्माणको चरणदेखि नै बालेनको हस्तक्षेप र पछि निजी क्षेत्रसँगको छलफलमा वाग्लेबिना बालेनकै सक्रियताले अर्थ मन्त्रालय ‘कोल्याप्स’ भएको पुष्टि गर्छ । निजी क्षेत्रका समस्या सुन्न र समाधान गर्ने ठाउँमा अर्थमन्त्री हुनुपर्नेमा प्रधानमन्त्री आफैँ बालेन अघि सर्नु र अर्थमन्त्री मूकदर्शक बन्नुले स्वर्णिम वाग्लेको अस्तित्व केवल नाममा मात्र सीमित छ भन्ने देखाउँछ ।
स्वर्णिम वाग्ले र बालेन शाहबीचको यो असमझदारी र टकरावले सरकारको उल्टो बाटोलाई उजागर गरेको छ । संसद्बाट समाधान खोज्नुपर्ने विषयहरूमा स्वर्णिमले बालेनसँग समन्वय गर्नुको साटो सामाजिक सञ्जालको युद्ध र दूरी बढाउनु उनको राजनीतिक अपरिपक्वता हो । आज बजेटको चौतर्फी विरोध भइरहँदा निजी क्षेत्रले बालेनलाई भरोसाको केन्द्र मान्नु र अर्थमन्त्रीलाई ‘बाइपास’ गर्नुले स्वर्णिमका लागि योभन्दा ठूलो अपमान अरू केही हुन सक्दैन ।
अर्कोतर्फ, स्वर्णिम वाग्लेलाई असफल बनाउन सत्ता गठबन्धनभित्रैबाट ठूलो खेल भइरहेको बुझ्न गाह्रो छैन । प्रधानमन्त्रीको सचिवालय र स्वयं प्रधानमन्त्रीले स्वर्णिमलाई एउटा यस्तो चक्रव्यूहमा पारेका छन्, जहाँबाट उनी निस्कन सकिरहेका छैनन् । चीनबाट आयात गरिएका विद्युतीय सवारी साधन (ईभी) को भन्सार प्रकरण यसको ज्वलन्त उदाहरण हो ।
उत्तरी नाका चीनबाट आयात भएको इभी गाडी बाटोमै रोकेर स्वर्णिमलाई फसाउने प्रपञ्च रचिएको थियो । छानबिन समिति बनाउनुको मुख्य उद्देश्य नै उनलाई राजनीतिक रूपमा समाप्त पार्नु थियो । यद्यपि, प्रतिवेदनले कुनै त्रुटि नदेखाएपछि उनी तत्कालका लागि त जोगिए, तर प्रधानमन्त्री कार्यालयको त्यो ‘टर्चर’ले उनलाई गलाइसकेको छ । तर पनि रसुवा नाकाबाट जेठ १५ गते अगाडि भन्सार जाँचपास भएका सयौं इभी गाडी बिनाकारण रोकिएका छन् । यो लज्जाको विषय हो ।
प्रधानमन्त्रीको सचिवालय र स्वयं प्रधानमन्त्रीले स्वर्णिमलाई एउटा यस्तो चक्रव्यूहमा पारेका छन्, जहाँबाट उनी निस्कन सकिरहेका छैनन् । चीनबाट आयात गरिएका विद्युतीय सवारी साधन (ईभी) को भन्सार प्रकरण यसको ज्वलन्त उदाहरण हो । उत्तरी नाका चीनबाट आयात भएको इभी गाडी बाटोमै रोकेर स्वर्णिमलाई फसाउने प्रपञ्च रचिएको थियो । छानबिन समिति बनाउनुको मुख्य उद्देश्य नै उनलाई राजनीतिक रूपमा समाप्त पार्नु थियो । यद्यपि, प्रतिवेदनले कुनै त्रुटि नदेखाएपछि उनी तत्कालका लागि त जोगिए, तर प्रधानमन्त्री कार्यालयको त्यो ‘टर्चर’ले उनलाई गलाइसकेको छ ।
स्वर्णिम वाग्ले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘मान्छे’ भएकै कारण मात्र पदमा टिकेका छन् । नभए उनको अर्थमन्त्री हुने सपना पनि बालेनले त्यतिबेलै कुल्चिसकेका हुन्थे । धुलिखेलको पछिल्लो बैठकको निष्कर्ष पनि यही हो कि उनीसँग अब कुनै ठोस योजना छैन, केवल अर्थमन्त्रीको ‘नेमप्लेट’ मात्र छ । रवि र बालेनबीचको बिग्रिएको सम्बन्धको मार पनि स्वर्णिमले खेप्नु परिरहेको छ । विधान मिचेर भए पनि बालेनलाई काउन्टर दिन अर्को वरिष्ठ उपाध्यक्ष थप्ने तयारी र रविको दबाबमा मात्र स्वर्णिमलाई नहटाउनुले सरकारभित्रको मनोवैज्ञानिक युद्ध प्रस्ट पार्छ ।
यति मात्रै होइन, असार २ गतेको इभी आयातसम्बन्धी रसुवा भन्सार प्रतिवेदन कार्यान्वयन गर्न नसक्नु र व्यापारीहरूका प्रश्नबाट भाग्दै हिँड्नुले वाग्लेको त्रसित मानसिकतालाई देखाउँछ । जुन व्यक्तिबाट देशले ठूलो आर्थिक फड्को मार्ने अपेक्षा गरेको थियो, उनी आज आफ्नै सुरक्षा र अस्तित्वको लडाइँमा रुमल्लिएका छन् । जनविरोधी बजेट, नीतिगत अस्पष्टता र बाह्य हस्तक्षेपका अगाडि लाचार बनेका स्वर्णिम वाग्ले इतिहासकै एक कमजोर र ‘निकम्मा’ अर्थमन्त्रीका रूपमा दर्ज हुने बाटोमा छन् । यदि समयमै उनले आफ्नो कार्यशैली र राजनीतिक अडान स्पष्ट पार्न सकेनन् भने, उनको बौद्धिक छवि बालुवाको महल जस्तै अर्थहिन हुने निश्चित छ । यो भनेको नेपालको इतिहासमा वाग्ले पहिलो र अन्तिम अर्थमन्त्री बन्नेछन् ।














