Logo
Logo

लगानी बोर्डमा पौडेल ?


0
Shares

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग राम्रो सम्बन्ध भएका मनोज पौडेललाई वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको टिमले पनि रुचाएको छ । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि अन्तिम तीन जनाको सूची मन्त्रिपरिषद्मा पुगेसँगै मनोज पौडेलको भाग्य खुलेको हो ।

प्रधानमन्त्री सचिवालय निकट पौडेललाई लगानी बोर्डको सिइओ नियुक्ति दिने तयारी भइरहेको स्रोतले बताएको छ । तत्कालीन प्रधानमन्त्री ओलीसँग पनि उनको उत्तिकै राम्रो सम्बन्ध रहेको थियो । सन् २०२४ डिसेम्बर (२०८१ मंसिर) मा तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणमा उनी पनि सहभागी थिए ।

त्यतिबेला पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वैदेशिक लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध मञ्चका सभापतिका रूपमा प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा बेइजिङ पुगेका थिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले याङ्की उक्याब, मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ । प्रधानमन्त्री बालेन्द्र साहको टिमले पौडेललाई रुचाएको स्रोतले बताएको छ । अर्कोतर्फ अर्थमन्त्री वाग्ले भने विकास अर्थशास्त्री याङ्की उक्याबको पक्षमा देखिए पनि बालेनको अगाडि वाग्लेको केही लाग्दैन ।

ओलीसँग बेइजिङमा पुग्दा नेपाल–चीन बिजनेस समिटमा पौडेलले नेपालको जलविद्युत्, पर्यटन, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रमा लगानीका सम्भावनाबारे उनले प्रस्तुति दिएका थिए । उनले नेपालको प्राकृतिक स्रोत, युवा जनशक्ति तथा तुलनात्मक लाभका आधारमा चिनियाँ लगानी आकर्षित गर्न सकिने धारणा राखेका थिए ।

भ्रमणका क्रममा चिनियाँ उद्योग वाणिज्य निकाय र व्यवसायीहरूसँग बीटुबी छलफलमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै बालेन सचिवालयमा प्रशंसा गरिएको छ । भ्रमणमा सहभागी केही निजी क्षेत्रका प्रतिनिधिहरूका अनुसार पौडेललाई उनको औपचारिक जिम्मेवारीभन्दा बढी महत्त्व दिइएको भन्दै टोलीभित्र असन्तुष्टि देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्