काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बैठक दिउसो १ बजेदेखि बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज भिष्मराज आङ्देम्बेले ‘वास्तविक भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनःस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिई उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवम् सुकुम्वासीलाई यथाशीघ्र लालपुर्जा वितरण गराउन आवश्यक भएकोले’भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने प्रस्तावका समर्थक ऐन बहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्ने कार्यसूची रहेको छ ।














