Logo
Logo

विश्वराजको बाटोमा चार एसएसपी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ३० मंसिर ।

नेपाल प्रहरीले इतिहासकै इमान्दार नेतृत्व पाएका बेला संगठनमा बढुवाको सिष्टम भने सबैभन्दा खत्तम हुने देखिएको छ । शक्तिकेन्द्रहरुको चलखेलमा सिनियर ब्याच नै मिचेर फाष्ट ट्रयाकमा बढुवा हुने गलत सिष्टम प्रहरी संगठनमा संस्थागत हुने खतरा बढेको छ ।

विश्वराज पोखरेलको व्यक्तिगत स्वार्थमा सुरु भएको यो खेललाई अन्य प्रहरीले पनि पछ्याउन थालेका छन् । किनकी उच्च पदस्थ व्यक्तिहरुलाई हात लियो भने नेपालमा जे पनि गर्न सकिन्छ भनेर उनले देखाइदिएका छन् । डिआईजी बढुवामा दुई ब्याचलाई उछिनेका उनले आफ्नै लागि एआइजीको पद थप्न सफल भए र व्यापक विरोधका बाबजुत पनि उनी त्यसमा बढुवा भएरै छाडे ।

डिआइजी बढुवामा पनि त्यही विकृति देखिने सम्भावना बढेको छ । पोखरेलको शैली अपनाउँदै जुनियर ब्याचका एसएसपीहरु यतिबेला बढुवाको दौडधुपमा लागेका छन् । जुनियर ब्याचका सन्दीप भण्डारी, टेकप्रसाद राई, दीपक थापा र भिम ढकाल विश्जराजकै शैलीमा शक्तिकेन्द्रलाई हात लिएर बढुवा हुने दाउमा छन् । जबकी उनीहरुभन्दा दुई ब्याच सिनियरहरु एसएसपी नै छन् ।

महानगरीय अपराध महाशाखामा कार्यरत दीपक थापा गृहसचिव महेश्वर न्यौपानेको आडमा यस्तो खेलमा लागेका छन् । न्योपाने र थापा दुवै भक्तपुरमा मात्र होइनन् सहपाठी पनि हुन् । थापालाई महेश बस्नेतले पनि साथ दिएका छन् । सर्वेन्द्र खनालको कार्यकालमा प्रबन्ध शाखाबाट उनी मालामाल भएका थिए ।

त्यस्तै भण्डारी, राई र ढकाल प्रधानमन्त्री निकट व्यक्तिहरुमार्फत यस्तो खेलमा लागेका छन् । सरकारले हाल थपेको डिआईजीको पाँच वटा दरबन्दीमा आफुहरुले लबिङ गरेको र त्यसमा आफुहरु नै बढुवा हुुनपर्ने भन्दै लागेको स्रोत बताउँछ ।

उता बढुवामा सिनियर ब्याचहरुबीच नै चर्काे प्रतिस्पर्धा छ । प्रहरी महानिरीक्षक शैलेश थापाको ब्याचबाट पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, शौरभ राणा बढुवाको दाबेदार छन् । उनीहरुमध्ये शौरभ राणा बलात्कार प्रकरणमा परेकाले बढुवामा पर्ने सम्भावना छैन । गणेश ऐर यसअघि प्रचण्डको भरमा परेका थिए । यसपटक प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राम्रो सम्बन्ध नभएकाले उनी पनि तनावमा छन् । देवबहादुर बोहरा भिम रावललगायत नेकपा नेताहरुमार्फत लबिङ गरिरहेका छन् ।

पछिल्लो ब्याचबाट दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नल प्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ लगायत पनि प्रतिस्पर्धामा छन् । लोहनी सुनकाण्डमा परेर यसअघि बढुवामा छुटेका थिए । पूजा सिंह काभ्रेमा हुँदा आर्थिक अनियमिततामा मुछिएकाले समस्या हुनसक्ने देखिन्छ । नरबहादुर खत्री गृह जिल्ला गुल्मीका नेकपा नेताहरु प्रदीप ज्ञवाली लगायतको भरमा परेका छन् । मोहन आचार्य प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको पछि लागेका छन् । नल प्रसाद उपाध्यायले गृहमन्त्री रामबहादुर थापा बादलक छारा प्रतीकलाई हात लिएका छन् ।

स्रोतका अनुसार केही बिचौलिया समूह समेत यसपटकको डिआइजी बढुवामा सक्रिय भएका छन् । जसकारण बढुवामा आर्थिक चलखेल हुने सम्भावना समेत देखिएको छ ।

यदि डिआइजी बढुवामा पनि जुनियर ब्याच छिरे भने संगठनमा राजनीतिक शक्तिको पछि नलाग्ने इमान्दार अधिकृतहरु राजिनामा दिएर पलायन हुने अवस्था सिर्जना हुने छ । र, त्यो अवस्थामा प्रहरी संगठन नेताहरुको कठपुतली बन्ने निश्चित छ । यो विकृतिलाई रोक्न नसके प्रहरी महानिरीक्षक क्षेत्रीमाथि समेत त्यसको दाग लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्