Logo
Logo

सिंहदरवारका महत्वपूर्ण प्रतिवेदन कहाँ हरायो ?


0
Shares

काठमाडौं । जेनजी विद्रोहको क्रममा सिंहदरवारमा रहेका महत्वपूर्ण प्रतिवेदनहरु जलेर नष्ट भएका छन् । प्रधानमन्त्री कार्यालय तथा गृहमन्त्रालय जल्दा सुरक्षा निकायले बुझाएका धेरैजसो प्रतिवेदनहरु जलेर नष्ट भएको बताइन्छ ।

सीमा सुरक्षासँगै दंगा नियन्त्रणको समेत कार्यादेश भएको सशस्त्र प्रहरी बल, नेपालले तराई–मधेशमा साम्प्रदायिक र जातीय द्वन्द्व गराएर समाजलाई विभाजित गर्ने तत्त्वहरू सक्रिय रहेको निष्कर्षसहितको गोप्य प्रतिवेदन गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा नभेटिएपछि जलेर नष्ट भएको अनुमान गरिएको छ । प्रधानमन्त्री कार्यालयले सशस्त्र प्रहरीको प्रतिवेदन खोज्दा समेत भेटिएको थिएन । सशस्त्र प्रहरीले पनि सो प्रतिवेदन आफूसँग नभएको र प्रधानमन्त्री कार्यालय तथा गृहमन्त्रालय अध्ययनका लागि बुझाएको जवाफ दिएको छ ।

सशस्त्र प्रहरीले सो प्रतिवेदन २०८० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला र त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला बुझाएको थियो ।८ उक्त प्रतिवेदनमा तराई–मधेशका विभिन्न संस्थाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ÷आईएनजीओ) को सहयोग रहेको भन्दै नियमन गर्न सुझावसमेत दिइएको थियो ।

प्रतिवेदनमा सशस्त्र प्रहरीले ‘धर्मका नाममा अतिवादी समूहबाट भड्काउने र उक्साउने’ गतिविधि भइरहेको भन्दै सामाजिक विवाद तथा द्वन्द्वको उचित ढंगले व्यवस्थापन गर्न आवश्यक रहेको सुझावसमेत दिएको थियो । ‘नेपालले छिमेकी मुलुक भारतको मणिपुरमा हालै मात्र भएको घटना तथा विभिन्न देशमा जाति, धर्म र भाषाका नामबाट भएको जनधनको क्षतिबाट पाठ सिकेर समयमै जातीय तथा धार्मिक विवादलाई समाधान गर्न सक्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।

आर्थिक वर्ष २०७७÷७८ देखि २०८०÷८१ मा प्रतिवेदन तयार हुँदासम्म धार्मिक तथा जातीय विषयमा २५ र पहिचानवादीको पक्षबाट ८ वटा घटना भएका छन् । त्यसमा रूपन्देही, सर्लाही, धनुषा, बाँके, सप्तरी, मोरङ, बर्दिया, कपिलवस्तु, बारा, झापा, सर्लाही, महोत्तरी र सुनसरीमा दुई समुदायबीच तनावका घटनाहरू भएकाले विशेष ध्यान दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

जेनजी आन्दोलनले सिंहदरवार जलाउदा नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आमनिर्वाचन भएको थियो । त्यसबेला मुलुकभरि मतदानको व्यवस्था गरिएको थियो । अहिले सीमा विवाद चर्किरहेका बेला नेपालको भूभाग फिर्ता ल्याउन २०१५ सालको निर्वाचनमा भएको मतदाताको लिस्टबाट पनि नेपाल मुलुकको भूभाग कहाँ–कहाँ थियो भन्ने बलियो प्रमाणका रूपमा पेस गर्न सकिने यो ऐतिहासिक दस्तावेज सिंहदरबारसँगै जलेको बताइन्छ ।

नेपालमा वि.सं. १९६८ साल (सन् १९११) मा पहिलो राष्ट्रिय जनगणना गरियो । त्यसबेला नेपालको जनसंख्या ५६ लाख ३८ हजार ७ सय ४९ थियो । दोस्रो राष्ट्रिय जनगणना वि. सं. १९७७, तेस्रो राष्ट्रिय जनगणना वि. सं. १९८७, चौथो राष्ट्रिय जनगणना वि. सं. १९९८, पाँचौं राष्ट्रिय जनगणना वि. सं. २००९ र छैटौं राष्ट्रिय जनगणना वि. सं. २०१८ मा गरियो ।

नेपालको सीमाना कहिले कहाँसम्म थियो भन्ने कुरा उठ्दा जनगणनामा संकलन गरिएका तथ्याङ्क बलियो प्रमाण पनि सिंहदरवारसँगै जलेको छ । यस्तै नेपालको वास्तविक पुरानो नक्सा पनि त्यहा जलेको थियो । जैसी कोठाको नामबाट कोठमा रहेका धेरैजसो प्रमाणहरु जलेर नष्ट भयो ।

जङ्गबहादुर राणाकोे पालामा पनि भोट र भारतसँग पत्रचार गर्नुपर्दा त्यही जैसी कोठाबाट गरिन्थ्यो । त्यही कोठामा बाह्य मुलुकसँग गरेका सन्धि र सम्झौता पत्र राखिन्थ्यो । सिंहदरवारमा आगालागी भएका बेला जैसी कोठाका कागजातहरू आगोबाट बचाउन नसकिएको एक कर्मचारीले बताए । यस्तै सन् १८१४ देखि १८१६ सम्म नेपाल र ब्रिटिश इस्ट इण्डिया कम्पनी सरकारबीच युद्ध भयो । यही युद्ध अन्त्य गर्न गरिएको सन्धि नै सुगौली सन्धि हो । तर यो सन्धिको असली दस्तावेज सिंहदरबारमा छैन ।

सुगौली भन्ने स्थानमा भएको यो सन्धि ४ मार्च १८१६ मा कार्यान्वयनमा आएको थियो । यस सन्धिमा नेपालको तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्यायले र ब्रिटिश पक्षबाट लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राडशाले हस्ताक्षर गरेका थिए । सो दस्तावेज पनि यतिबेला भेटिँदैन ।

प्रतिक्रिया दिनुहोस्