Logo
Logo

मधेश केन्द्रित ७ दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा


504
Shares

काठमाडौं । मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालसहितका सात दलले शनिबार काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा मोर्चाको औपचारिक घोषणा गरेका हुन् ।

The current image has no alternative text. The file name is: morcha.jpg

मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन् ।

तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीसमेत मोर्चामा सहभागी रहेका छन् । 

मोर्चा घोषणा कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले देशमा संकट र अत्याचार बढेका बेला फरक राजनीतिक विचारधारा बोकेका शक्तिहरू विगतमा पनि एक ठाउँमा आएर सङ्घर्ष गरेको बताए ।

उनले मोर्चाको मुख्य उद्देश्य संविधानवाद, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, लोकतान्त्रिक मूल्य-मान्यता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता तथा मानव अधिकारका उपलब्धिको संरक्षण गर्नु रहेको बताए ।  ‘देश संविधानअनुसार चल्नुपर्छ, विधिसम्मत तरिकाले चल्नुपर्छ। कानुनी शासन र संविधानवाद कायम हुनुपर्छ,’ राउतले भने ।

मोर्चा सत्ता प्राप्तिका लागि नभई सङ्घर्षका लागि गठन गरिएको राउतले बताए । उनले वर्तमान सत्तामा रहेका दल तथा नेताहरूलाई मोर्चाबाट आफ्नो कुर्सी खोस्ने उद्देश्य नरहेको बताए । 

‘यो मोर्चा सङ्घर्षका लागि बनेको हो, सत्ता प्राप्तिका लागि हामीले गठबन्धन गरेका होइनौँ,’ राउतले भने, ‘कुर्सीमा बसेर चलाउनुस्, तर संविधानवादमा चल्नुस्। सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य९मान्यताअनुसार शासन सञ्चालन गर्नुस्।’

प्रतिक्रिया दिनुहोस्