Logo
Logo

प्रमुख दलहरू सच्चिनु नै  देशका लागि सुरक्षित हुने छ : शङ्कर पोखरेल


0
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमीकमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो रहेको बताएका छन् । शनिवार नेकपा (एमाले) तारकेश्वर नगर कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

The current image has no alternative text. The file name is: sanker.jpg

पोखरेलले पार्टी र आन्दोलन कमजोर हुनुका कारणहरू पहिचान गरी तिनको सम्बोधन गर्नु नै अहिलेको मुख्य साङ्गठनिक कार्यभार रहेको उल्लेख गरे । पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण अनिवार्य रहेकोमा उनले जोड दिए । कार्यकर्ता पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “कार्यकर्ता पलायन भइसकेपछि भोलि पार्टी नयाँ ढङ्गले अघि बढ्दा उनीहरूलाई फर्काउन गाह्रो हुन्छ ।”

निर्वाचनमा पार्टीले अपेक्षाअनुसारको परिणाम ल्याउन नसके पनि जनताको मनोविज्ञान र भावना बुझेर अघि बढेमा एमालेले नै वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने उनले दाबी गरे । राष्ट्रका समस्या समाधान गर्ने क्षमता प्रमुख दलहरूमा मात्र रहेको जिकिर गर्दै उनले वैकल्पिक शक्तिका नाममा हुने प्रयोगले सही परिणाम नदिने तर्क गरे । ‘देखाइदिऊँ’ भन्ने प्रवृत्तिको परिणाम आज पार्टीले भोगिरहेको उनको भनाइ थियो ।

पोखरेलले भने, “आज तपाईँहरू पार्टी निर्माण, सङ्गठनका चुनौती र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहनुभएको छ । स्वाभाविक रूपमा, हाम्रो पार्टी र आन्दोलन कमजोर हुनुका कारणहरू पहिचान गरी तिनको सम्बोधन गर्नु नै अहिलेको पार्टी निर्माण र सङ्गठन सुदृढीकरणको मुख्य विषय हो । केन्द्रीय सचिवालयले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण आवश्यक रहेको निष्कर्ष निकालेको छ। त्यसका लागि पार्टी पुनर्गठन आवश्यक भएकाले कार्ययोजना बनाउन कार्यदल गठन गरिएको छ। कार्ययोजना तयार भएपछि तपाईंहरूसामु आउने नै छ। तर संस्थागत निर्णय र कार्ययोजना पर्खेर मात्र हुँदैन। आफ्नो ठाउँको सङ्गठनलाई व्यवस्थित र बलियो बनाउन तपाईँहरूले अहिलेबाटै पहल र मेहनत गर्नुपर्छ। हामीले चुनाव हारेका छौँ, तर जनताको मनोविज्ञान र भावनालाई बुझेर अघि बढ्ने सङ्कल्प गर्ने हो भने आजका चुनौती सामना गर्ने सामर्थ्य यही पार्टीसँग छ। राष्ट्रका समस्याहरू समाधान गर्ने क्षमता यही पार्टीबाहेक अरू कुनै पार्टीसँग छ भन्ने मलाई लाग्दैन। ‘देखाइदिऊँ’ भन्ने प्रवृत्तिको परिणाम के हुँदो रहेछ भन्ने कुरा आज हामीले भोगिरहेका छौँ। त्यसैले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमीकमजोरी सच्याउँदै अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो हो भन्ने कुरामा हामी सबैले भरोसा गर्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस्