Logo
Logo

काँग्रेस केन्द्रिय कार्यसमिति बैठकः १५ औं महाधिवेशनको तयारी र सरकारको समीक्षा मुख्य एजेण्डा


0
Shares

काठमाडौँ । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

बैठकको सुरुमा महामन्त्री प्रदीप पौडेलले १५ औँ महाधिवेशनको तयारी, सरकारको १०० दिने समीक्षा र समसामयिक राजनीतिक परिस्थितिसहितका विविध एजेन्डा प्रस्तुत गरेका छन्। बैठकको मुख्य एजेन्डाका रूपमा आगामी १५ औँ महाधिवेशनका सन्दर्भमा व्यापक छलफल गर्ने र आवश्यक निर्णय लिने विषयलाई राखिएको छ ।

महाधिवेशनको तयारीका लागि आवश्यक नियमावली र निर्वाचन निर्देशिकाका बारेमा पनि बैठकमा छलफल हुनेछ । साथै, क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरणको प्रक्रियालाई अन्तिम रूप दिने र महाधिवेशन तयारी समिति गठन गर्ने विषय पनि एजेन्डामा समेटिएका छन् ।

महामन्त्री पौडेलका अनुसार बैठकमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको प्रतिवेदनमाथि संक्षिप्त छलफल गरिनेछ । यसअघि केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयहरूलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने कार्यसूची छ ।

बैठकमा वर्तमान सरकारको १०० दिनको कार्यसम्पादन समीक्षा गर्ने कार्यक्रमसमेत रहेको छ । प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली काङ्ग्रेसको भूमिकालाई थप प्रभावकारी बनाउने र जनसरोकारका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने गरी ठोस निर्णय लिइने महामन्त्री पौडेलले बताए ।

तराई–मधेसमा हालै भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयलाई काङ्ग्रेसले गम्भीरतापूर्वक लिएको छ। ती घटनाहरूको समीक्षा गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र सामाजिक सद्भाव सुदृढ बनाउन पार्टीका तर्फबाट आवश्यक रणनीति तय गरिनेछ ।

सङ्गठनात्मक विषयतर्फ सदस्यता व्यवस्थापन, केन्द्रीय समितिका निर्णयहरू, जनसम्पर्क समितिका समस्या र अन्य दलबाट काङ्ग्रेसमा प्रवेश गरेकाहरूको व्यवस्थापनका विषयमा पनि बैठकले आवश्यक निर्णय गर्नेछ । हाल १३ वटा देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेको र बाँकी देशहरूमा अधिवेशन गराउने तथा नयाँ देशहरूलाई स्वीकृति दिने प्रस्ताव पनि बैठकमा पेस गरिएको छ ।

यस्तै, बैठकमा प्रदेश सरकारहरूको विकसित राजनीतिक परिस्थिति, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधान र स्वीकृतिलगायतका विविध विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्