Logo
Logo

देउवा–ओली सहमतिपश्चात प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रस्ताव आयो : गगन थापा


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा काँग्रेस, नेकपा (एमाले) र नेकपा मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारबारे ब्रिफिङ गर्दै यस्तो बताएका हुन् । उनले तत्कालीन काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्षबीच भएको समझदारीअनुसार निश्चित समयपछि काँग्रेस नेतृत्वमा रहेको प्रदेशमा एमाले र एमाले नेतृत्वमा रहेको प्रदेशमा काँग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको र सोही सहमति कार्यान्वयन गर्न खोज्दा एमालेसँग कुरा नमिलेको बताए ।

उनले प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने कुरा पार्टी, संघीयता र लोकतन्त्रका लागि उपयुक्त नभएको कारण काँग्रेसले अस्वीकार गरेको बताए ।

उनले भने, ‘हामी प्रदेशमा सरकारमा छौँ । केही ठाउँमा अहिले छैनौँ । हामी नेकपा (एमाले)सँग एउटा सहमतिमा थियौँ सात वटै प्रदेशमा । मधेस प्रदेशमा विशिष्ट अवस्था थियो । त्यहाँ नेकपा, काँग्रेस र एमालेको संयुक्त सरकार थियो । पहिले आदरणीय नेता शेरबहादुर देउवा पार्टी सभापति हुँदैगर्दा उहाँ र नेकपा (एमाले)का अध्यक्षबीचमा हस्ताक्षर भएर सरकार बन्दैगर्दा खेरी निश्चित समयपछि काँग्रेस भएको ठाउँमा एमाले र एमाले भएको ठाउँमा काँग्रेसले नेतृत्व गर्ने भन्ने सहमति भएको रहेछ । त्यही समझदारीअनुसार गर्ने भनेर हामीबीच छलफल भयो । उपसभापति विश्वप्रकाश शर्माले त्यो विषयको नेतृत्व गर्नुभएको थियो । तर हामीलाई के प्रश्ताव गरियो भने सबै प्रदेशमा काँग्रेस, एमाले र नेकपा मिलाएर संयुक्त सरकार बनाउनुपर्छ भन्ने प्रश्ताव रह्यो । त्यो प्रश्ताव हामीले मानेनौँ । प्रदेशमा अपोजिशन नै नराखि तीन पार्टी मिलेर सरकार बनाउने कुरा ठिक हुँदैन । यो पार्टीं, संघीयता र लोकतन्त्रको लागि पनि ठिक छैन ।’

उनले संघीय सरकार र प्रतिपक्ष भुमिकामा रहेको प्रदेश सरकारमा कसरी अघि बढ्ने भन्नेबारेमा समेत छलफल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्