
काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले जेल बस्न नपर्ने भएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर कैद र जरिवाना तोकिए पनि उनले जेल भने बस्नु नपर्ने भएको हो ।
सर्वोच्च अदालतबाट समेत दुई वर्षपहिले नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कैद र जरिवाना तोकिएको थियो । तर, जोशी शुक्रबार कैद छुटको मागसहित विशेष अदालतमा उपस्थित भएका थिए ।
विशेष अदालतका तीन न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले जोशीले जेल बस्न नपर्ने आदेश भएको हो । ज्येष्ठ नागरिकले पाउने कैद छुटको मागसहित उनले असार २४ गते निवेदन दिएका थिए ।
७५ वर्षमाथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशत कैद छुट पाउने कानुनी व्यवस्था छ । अख्तियारको अनुसन्धानका क्रममा पहिल्यै ३ महिना १७ दिन थुनामा बसिसकेकाले बाँकी कैद छुटको माग गर्दै निवेदन दिएका थिए ।
तर यस्तो छुट कारागारमा रहेकाले निवेदन दिएपछि दिने कि कारागार नबस्दै निवेदन दिनेले पनि पाउने भन्नेमा न्यायाधीशबीच राय बाझिएको थियो ।
न्यायाधीश पौडेल र कोइरालाले कारागार नबसे पनि कैद छुटको सुविधा पाउनसक्ने राय दिएसँगै बहुमतबाट निर्णय भएको हो । रावलले भने कारागारमा बसेर मात्रै निवेदन दिनुपर्ने राय राखेका थिए ।














