काठमाडौँ । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि जेल बस्न नपर्ने भएको छ।
सर्वोच्च अदालतबाट समेत दुई वर्षपहिले नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर कैद र जरिवाना तोकिएका जोशी शुक्रबार विशेष अदालतमा कैद छुटको मागसहित विशेष अदालतमा उपस्थित भएका थिए।

विशेष अदालतका तीन न्यायाधीशको इजलासमा बहुमतबाट जोशीले जेल बस्न नपर्ने आदेश भएको हो। ज्येष्ठ नागरिकले पाउने कैद छुटको मागसहित उनले असार २४ गते निवेदन दिएका थिए। उक्त निवेदनमा शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइ भएको थियो।
७५ वर्षमाथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशत कैद छुट पाउने कानुनी व्यवस्था छ। अख्तियारको अनुसन्धानका क्रममा पहिल्यै ३ महिना १७ दिन थुनामा बसिसकेकाले बाँकी कैद छुटको माग गर्दै निवेदन दिएका थिए।
तर यस्तो छुट कारागारमा रहेकाले निवेदन दिएपछि दिने कि कारागार नबस्दै निवेदन दिनेले पनि पाउने भन्नेमा न्यायाधीशबीच राय बाझिएको थियो।
न्यायाधीश पौडेल र कोइरालाले कारागार नबसे पनि कैद छुटको सुविधा पाउनसक्ने राय दिएसँगै बहुमतबाट निर्णय भएको हो। रावलले भने कारागारमा बसेर मात्रै निवेदन दिनुपर्ने राय राखेका थिए।
२०८१ साउन १३ गते सर्वोच्च अदालतले जोशीलाई ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको छ। सर्वोच्च अदालतबाट कैद र जरिवाना तोकिए पनि उनले सजाय भुक्तान गरेका थिएनन्।
२०६९ साउन १० गते विशेष अदालतले जोशीलाई १ वर्ष ६ महिना कैद र दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना तोकेको थियो। त्यसको १२ वर्षपछि सर्वोच्च अदालतले विशेषको फैसला केही उल्ट्याउँदै जरिवाना र कैद नै घटाएको थियो।
अब भने जोशीले उक्त कैद पनि नबसी भुक्तान भएको हो।














