काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गरेको छ ।

कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै संसद्मा उठेका प्रश्नहरूको जवाफ माग गरेर आफूहरूले सभामुख र प्रधानमन्त्री पदको गरिमा जोगाउन माग गरेकी हुन् ।
उनले भनिनन्,‘सभामुखसमक्ष आग्रह गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस् । हामी तपाईँलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौँ । हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौँ । हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौँ ।’
साथै, उनले प्रधानमन्त्री शाह एक्लै नभएको भन्दै प्रतिपक्ष सधैँ साथमै उभिने प्रतिबद्धता जनाइन् । ‘प्रधानमन्त्रीज्यू तपाईँ एक्लो हुनुहुन्नँ, मुलुकको हितमा तपाईँ अघि बढ्नुस् । प्रतिपक्ष तपाईंको साथमा उभिनेछ । तर संविधानभन्दा माथि कोही छैन,’ उनले भनिन्, ‘संसद्भन्दा ठूलो राजनीतिक मञ्च छैन । राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन । सचिवालयले मात्रै देशको शासन चल्दैन ।’














