काठमाडौँ । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो ।

सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा ५४५, मिडियम ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको छ ।
मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उनको भनाइ छ । अण्डाको लागत मूल्य प्रतिगोटा १९.१२ पर्न आउँछ । यसलाई हिसाब गर्दा प्रतिक्रेट ५७३.६ हुन आउँछ ।
बर्डफ्लुका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको छ । लागत मूल्य पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन् । पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लग्नुलगायत कारााले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन् ।














