Logo
Logo

ओली-प्रचण्डको ५ बुँदे सर्कुलर: सिट संख्याका आधारमा प्रदेशमा शक्ति बाँडफाँट


0
Shares

काठमाडौँ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सरकार गठनसम्बन्धी पूर्वसहमति कार्यान्वयनका लागि पाँचबुँदे संयुक्त निर्देशन र मन्त्रालय बाँडफाँटका विषयमा नयाँ सर्कुलर जारी गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा संयुक्त रूपमा हस्ताक्षरित उक्त निर्देशनमा सरकार गठन र मन्त्रालयको भागबन्डा गर्दा प्रदेशसभामा दलहरूको सिट संख्याका साथै मुख्यमन्त्री र सभामुख जस्ता प्रमुख पदलाई समग्र राजनीतिक शक्ति सन्तुलनको आधार मानिने उल्लेख छ।

मन्त्रालय बाँडफाँटका लागि दुवै दलले पालैपालो रोज्ने प्राथमिकता प्रणाली तय गरेका छन्, जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्री नपाउने दलले र दोस्रो मन्त्रालय मुख्यमन्त्री पाउने दलले छनोट गर्नेछन्। यही चक्रलाई दोहोर्‍याउँदै सबै मन्त्रालयको बाँडफाँट गरिनेछ।

दुई दलको बहुमत नपुग्ने प्रदेशमा तेस्रो दललाई सहभागी गराउँदा आपसी समझदारीमा मन्त्रालय छुट्याइने र बाँकी मन्त्रालयमा पुनः सोही क्रमिक छनोट विधि अपनाइनेछ। प्रदेशमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिन सरकारको न्यूनतम साझा प्रतिबद्धता सार्वजनिक गरी कार्यान्वयन गरिने र यसले संघीयताको प्रवर्द्धनका साथै दुई दलबीचको सहकार्यलाई थप दिगो बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्