काठमाडौं । एनसेलले व्यवसाय तथा संस्थाहरूका लागि डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँबाट उपलब्ध गराउने गरी ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ ।

स्थानीय रूपमा समर्थित यस प्लेटफर्ममार्फत नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाले आफ्नो डिजिटल उपस्थिति व्यवस्थापन गर्न सक्ने कम्पनीले जनाएको छ ।
डिजिटल माध्यमतर्फ व्यवसायहरू अघि बढिरहेका बेला भरपर्दो र सहज वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको भन्दै एनसेलले क्लाउडसुइट सेवा ल्याएको हो । यस सेवामार्फत ग्राहकले एउटै प्लेटफर्मबाट डोमेन दर्ता गर्ने, वेबसाइट होस्ट गर्ने तथा आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्नेछन् ।
कम्पनीका अनुसार प्लेटफर्ममा डोमेन नवीकरण, डोमेन ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनजस्ता सुविधा पनि समावेश छन् ।
व्यवसायको आवश्यकता र विकासको चरणअनुसार एनसेलले वेब होस्टिङका लागि दुईवटा प्याकेज ल्याएको छ । यसमा बेसिक र प्रो प्याकेज रहेका छन् ।
मासिक १ हजार रुपैयाँ पर्ने बेसिक प्याकेज साना तथा आफ्नो अनलाइन उपस्थिति सुरु गर्न चाहने व्यवसायलाई लक्षित गरिएको छ । यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध हुनेछन् ।
त्यस्तै, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायका लागि प्रो प्याकेज ल्याइएको छ । मासिक २ हजार रुपैयाँ पर्ने यो प्याकेजमा थप स्टोरेज तथा डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप र सुरक्षा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले क्लाउडसुइट नेपाली व्यवसायलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति बनाउन सहयोग गर्ने महत्त्वपूर्ण कदम भएको बताएका छन् ।
उनका अनुसार डोमेन नाम र भरपर्दो वेब होस्टिङ डिजिटल यात्राका आधारभूत आवश्यकता हुन् । स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालमै डेटा होस्टिङको सुविधा दिएर व्यवसायलाई थप आत्मविश्वास र नियन्त्रणका साथ डिजिटल क्षेत्रमा अघि बढ्न सहज बनाउने उद्देश्य रहेको उनले बताए ।
कम्पनीले क्लाउडसुइट सेवामार्फत नेपालमै वेबसाइट होस्टिङ हुने र डेटा पनि नेपालमै रहने जनाएको छ । यसले व्यवसायलाई आफ्नो वेबसाइट डेटा तथा डिजिटल सम्पत्ति देशभित्रै राख्न सुविधा दिनेछ । साथै, आफ्नै डेटामाथि थप नियन्त्रण कायम गर्न र नियामक आवश्यकताहरू पूरा गर्न पनि यसले सहज हुने एनसेलको भनाइ छ ।















