Logo
Logo

नाइमा एक्स्पोको: पहिलो दिन ४८ नयाँ मोडल सार्वजनिक, २९ हजारभन्दा बढीले गरे अवलोकन


0
Shares

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ भव्य रूपमा सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरीको ब्लु प्याभिलियन अडिटोरियम हलमा मंगलबार विशेष कार्यक्रमबीच एक्स्पोको उद्घाटन गरिएको हो ।

स्पेसल प्यानल अफ गेस्टबाट उद्घाटन गरिएको एक्स्पोको पहिलो दिन नै २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पो सवारीसाधन खरिद–बिक्री गर्ने थलो मात्र नभई समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने साझा थलो भएको बताइन् ।

उनले पटक–पटक परिवर्तन हुने सरकारी नीतिले व्यवसायमा अनिश्चितता सिर्जना गरेको भन्दै नयाँ लगानी भित्र्याउन समस्या भइरहेको बताइन् । निजी क्षेत्र तथा सरोकारवालासँग छलफल गरेर मात्रै नीतिगत परिवर्तन गर्न उनले सरकारलाई आग्रह गरिन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सवारीसाधन बिक्री गरेर मात्र व्यवसायको दायित्व पूरा नहुने बताए । उनले सडक सुरक्षा र सामाजिक उत्तरदायित्वमा पनि व्यवसायीले ध्यान दिनुपर्ने भन्दै बिक्रीपछिको सेवामा विशेष जोड दिन ब्रान्डहरूलाई सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई लामो समयदेखि राजस्वको स्रोतका रूपमा मात्रै हेर्दै आएको गुनासो गरे । उनले अटोमोबाइललाई विलासिताको नभई आवश्यकताको क्षेत्रका रूपमा बुझ्नुपर्ने बताए ।

नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वकै उच्चमध्ये भन्सार दर लागू भइरहेको उल्लेख गर्दै श्रेष्ठले विद्युतीय सवारीसाधनका लागि पनि स्थिर र दीर्घकालीन नीति आवश्यक रहेको बताए । निजी क्षेत्र लगानी गर्न तयार रहे पनि त्यसका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो मात्रामा राजस्व प्रदान गर्ने प्रमुख क्षेत्रमध्ये एक भएकाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटीलाई यातायातको विषयमा मात्र सीमित गर्न नहुने बताए । यो मुलुकको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको उनको भनाइ छ ।

उनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको तथ्यांक प्रस्तुत गर्दै यो क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण तथा सूचना प्रविधिजस्ता विभिन्न क्षेत्रसँग अन्तरसम्बन्धित रहेको बताए । त्यसैले मोबिलिटीलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा नभई आर्थिक विकासको इन्जिनका रूपमा लिनुपर्ने अग्रवालको भनाइ छ ।

पहिलो दिन ४८ नयाँ मोडल सार्वजनिक
एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्म एक्स्पोका मुख्य आकर्षण बनेका छन् ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियतासँगै नयाँ प्रविधि र मोडलप्रति दर्शकको आकर्षण देखिएको छ ।

एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले सवारीसाधन खरिदका लागि विशेष अफर तथा सहुलियतपूर्ण कर्जा सुविधा पनि उपलब्ध गराइरहेका छन् ।

लगानी र एफडीआईबारे बहस
एक्स्पोको पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट : मोबिलाइजिङ–फ्युल फर इकोनोमिक ग्रोथ’ विषयमा छलफलसमेत भएको छ ।

पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य सहभागी थिए ।

त्यस्तै, मंगलबारको लर्निङ सेसनमा मात्रै ३०० भन्दा बढीले सहभागिता जनाएका छन् । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा लर्निङ सेसन, पोलिसी डायलग र उद्योगसम्बन्धी अन्तरक्रियालगायत कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।

‘बेसिक लाइफ सपोर्ट एन्ड इमिडिएट केयर आफ्टर रोड ट्राफिक एक्सिडेन्ट्स’ विषयमा ग्रान्डी इन्टरनेसनल हस्पिटलले जानकारीमूलक विशेष प्रस्तुति पनि दिएको थियो ।

दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको यो दोस्रो संस्करण ६ दिनसम्म चल्नेछ । एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोमा विभिन्न नयाँ विद्युतीय सवारीसाधन, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनका साथै चार्जिङ प्रविधि, अटोमोबाइलसँग सम्बन्धित सेवा तथा वित्तीय सुविधाहरू प्रदर्शनमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्