बिहीबारदेखि काठमाडौं-नयाँदिल्ली उडान सुरु « Drishti News – Nepalese News Portal
Logo

बिहीबारदेखि काठमाडौं-नयाँदिल्ली उडान सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ पुस । कोरोना महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान बिहीबारदेखि पुनः शुरु भएको छ । करिब ९ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनः सञ्चालनमा आएको हो ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाजले काठमाडौँबाट १४१ यात्रु लिएर दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहान ११ः२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समयअनुसार दिउँसो १ः५५ बजे काठमाडौँ फर्किने उडान तालिका छ । एक सय ५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा १३५ इकोनोमिक र छ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले जनाएको छ ।
नौ महिनापछि पहिलो उडानको अकुपेन्सी उत्साहवद्र्धक रहेको र दिल्ली गन्तव्यमा आगामी दिनमा विगतमाझैँ प्रत्येक दिन दुई उडानको अपेक्षा गरिएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए । ‘भारतले आयोजना गरेको बबेल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानमा जुटेको छ, भारतका अन्य दुई गन्तव्यमा पनि विगतमाझैँ छिट्टै उडान हुने अपेक्षा गरिएको छ’ उनले भने ।
काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनः शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्