
काठमाडौं, २ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ ।
संसदलाई बन्धक बनाएर प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेशमार्फत अलोकतान्त्रिक बाटोमा अगाडि बढेको निष्कर्ष निकाल्दै कांग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको हो । कांग्रेसले अध्यादेशपश्चात् हुने कुनैपनि निर्णय अमान्य पनि स्पष्ट पारेको छ ।
प्रधानमन्त्री ओलीले हठात् संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बुधबार बसेको कांग्रेसका शीर्ष नेतासहितको पदाधिकारी बैठकले अध्यादेशलाई सरकारको सर्वसत्तावादी सोच र अलोकतान्त्रिक चरित्रलाई उजागर गरेको ठहर गरेको छ ।
‘मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर बैठकले गरेको छ। संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको छ,’ बैठकका निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।
उनले संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेश पश्चात् कुनैपनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई सो मान्य नहुने बताउँदै भने, ‘बैठकले अविलम्ब अध्यादेश फिर्ता गर्न माग गरेको छ ।’














