Logo
Logo

बीबीसी मास्टर सेफ प्रोफेसनल्स्-२०२० : ऐला र राँगाको मासु बाँडेर सन्तोषले लाखौँको मन जिते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ पुस । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स्–२०२०’मा नेपाली सेफ सन्तोष साह उपविजेता बनेका छन् । बिहीबार साँझ बिबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि जितेका छन् ।
पछिल्लो सयम बेलायतमै बस्दै आएका सन्तोषले उपबिजेता बने पनि आफू खुसी रहेको बताएका छन् । संसारभरका विभिन्न कुइजिनहरुको प्रतिनिधित्व गर्ने झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धामा अन्तिम फाइनलसम्म पुगेका सन्तोषले भने, ‘उपाधि जित्नु नै सबैथोक होइन, नेपाली खाना विश्वसामु पु¥याउन र लाखौं नेपालीको मन जित्न सफल भएकोमा खुसी छु ।’
सन्तोष बिहीबारको फाइनल एपिसोडमा नेपाली ढाकाटोपीमा उपस्थित भएका थिए । त्यसअवसरमा उनको बारेमा बीबीसीले तयार पारेको एक भिडियो सामग्री देखाइएको थियो, जसमा सन्तोषले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।
अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला राँगाको मासु, खोले साग, भेडाको गिदीलगायतका परिकार चरेशको थालमा पस्किएका थिए । खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गरेका थिए ।
संसारभर प्रतिष्ठित बीबीसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने सन्तोष पहिलो सेफ हुन् । उनले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचारलगायतका दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएर लाखौँ देशी–विदेशीको मन जितेका छन् ।
सानै उमेरमा भारत पसेका सिरहा कर्जन्हाका सन्तोष लामो संघर्ष र मेहनतपछि यो स्थानसम्म आइपुगेका हुन् । यसक्रममा उनले भारत तथा बेलायतका पाँचतारे होटेलदेखि मेसिलिन स्टार रेष्टुरेन्टहरुसम्ममा कामको अनुभव लिइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्