काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली नदीमा सरकारले बाँसको पुल बनाउन लागेको भन्ने हल्ला फैलाउने व्यक्तिको ‘गालामा मालिस’ गर्नुपर्ने टिप्पणी गरेका छन् ।

निर्वाचन क्षेत्र गोरखा-१ अन्तर्गतका गाउँमा पुगेर स्थानीयवासीका गुनासा र समस्या सुन्ने क्रममा उनले हल्ला फैलाउने व्यक्तिको ‘गालामा मालिस’ गर्नुपर्ने टिप्पणी गरेका हुन् ।
स्थानीयले त्रिशूली नदीमा सरकारले बाँसको पुल निर्माण गर्न लागेको भन्ने चर्चा रहेको बताएपछि गृहमन्त्री गुरुङले सो जवाफ दिएका हुन् ।
उनले त्रिशूलीमा बाँसको पुल बनाउन सरकार त्यति लाटो नरहेको बताए । सरकारले २७-२८ लाख खर्चेर बाँसको पुल बनाउँछ भनेर भ्रम फैलाएको गुरुङको दाबी रहेको छ ।
‘नेपाल सरकार त्यति लाटो छैन कि त्रिशूलीमा बाँसको पुल बनाओस्। जसले यस्तो भ्रम फैलायो, सारै बुद्धु मान्छे रहेछ’, उनले भने, ‘अब नेक्स्ट टाइम जसले यस्तो भ्रम फैलाउँछ, गालामा यसो मालिस गरिदिए हुन्छ। सुमसुम्याइँ दिए हुन्छ, के कुरा गर्नुभएको भनेर ।’












