Logo
Logo

प्रधानमन्त्रीलाई सभामुखको रुलिङपछि हट्यो विपक्षीको विरोध


0
Shares

काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले विगत ७८ दिनदेखि गर्दै आएको विरोध फिर्ता लिएका छन्।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन सभामुखले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेपछि विपक्षी दलहरू विरोधको शैलीबाट पछि हटेका हुन्।

सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विगतका बैठकहरूमा जस्तै विपक्षी दलका सांसदहरू विरोधस्वरूप उभिएका थिए। त्यसपछि सभामुख डीपी अर्यालले लामो समयदेखि प्रधानमन्त्री र उहाँको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै भइरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।

त्यसलगत्तै सभामुखले रुलिङ गर्दै भने, “प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु।”

सभामुखको रुलिङपछि पनि विपक्षी दलका सांसदहरू केहीबेर अन्योलमा परेका थिए। १७ जेठ २०८३ देखि विपक्षी दलहरूले सीमा विवादसम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रत्येक दिन सदनमा अवरोध/विरोध गर्दै आएका थिए। त्यसक्रममा उनीहरूले संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भन्दै सभामुख र सरकारको ध्यानाकर्षण गराइरहेका थिए।

सभामुखले सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा मौन रहँदै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि तयार हुन रुलिङ गरे। प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय निर्धारण गर्ने व्यवस्था छ। यो व्यवस्था कार्यान्वयनका लागि प्रधानमन्त्री तयार नभएपछि सभामुखले रुलिङ नै गर्नुपरेको हो।

मुख्य मुद्दा (सीमा विवादको अभिव्यक्ति) मा नभई प्रश्नोत्तर कार्यक्रमसँग सम्बन्धित रुलिङ आएकाले विपक्षी सांसदहरू केहीबेर अलमलमा परे पनि सभामुख अर्यालले “माननीय सदस्यहरूले माग गरेबमोजिम सरकार र प्रधानमन्त्रीको नाममा रुलिङ भइसकेको” भन्दै बस्न आग्रह गरेपछि उनीहरू आफ्नो आसनमा बसेका थिए। यससँगै संसद्मा ७८ दिनदेखि जारी विपक्षीको विरोध अन्त्य भएको छ।

प्रतिक्रिया दिनुहोस्