काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले जनता आधारभूत सेवाका लागि तड्पिँदा मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकोप्टर उपलब्ध हुने गरेको बताएका छन् ।

सोमबार (भदौ १) को प्रतिनिधिसभा बैठकमा उनले मन्त्री देश घुमेर जनता खुसी नहुने बताए । “आज जनता ग्यास, मल, सञ्चार सेवा, विद्युत् र आधारभूत स्वास्थ्य सेवाका लागि तड्पिरहेका छन् । मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकोप्टर उपलब्ध हुन्छ,” उनले भने, “तर, जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन । अस्पतालमा डक्टर हुँदैनन् । मन्त्रीन्ज्यूहरू तपाईंहरूका भिडियो र प्रचारले जनता खुसी हुँदैनन् ।”
उनले मन्त्रीहरूलाई मन्त्रालयको काम छाडेर अनावश्यक रूपमा नघुम्न आग्रह गरे । “माननीय मन्त्रीज्यूहरूलाई प्रश्न छ- तपाईंहरूलाई देश घुम्ने रहर हो कि, समस्या समाधान गर्ने हुटहुटी ? बिदामा घुम्न गएजस्तो गर्नुभन्दा मन्त्रालयमा बस्नुस् । नीति बनाउनुस्, निर्णय गर्नुस्, कर्मचारीको मनोबल उच्च बनाउनुस्,” उनले भने ।
देशका १६५ वटै निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायसमेत सम्बन्धित क्षेत्रका सांसदहरूले दिन सक्ने उनले बताए । जम्बो सल्लाहार राखेर राज्यको ढुकुटी रित्याउन आवश्यक नरहेको उनको भनाइ छ ।
आइतबार मात्रै पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई भाइरल ज्वरो आएपछि बैतडीबाट हेलिकोप्टरमा ल्याइएको थियो ।












