काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिमा प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीविरुद्ध खनिएका सांसद खगेन्द्र सुनारको मुद्दा अदालतबाट अझै अन्तिम किनारा लागेको छैन । आइजी कार्कीलाई लेखा समितिको बैठकमा विभिन्न आरोप लगाउँदै बर्दी नै फुकालेर तत्कालै छानबिनको कठघरामा ल्याउनुपर्ने भन्दै जंगिएका सुनारको मुद्दाहरु अझै अदालतमा विचाराधीन छन् । त्यसो त समितिको बैठकमा आइजी कार्कीको तेजोवध गर्न उनलाई सचिवालयकै सदस्यहरुले उकासेको बताइन्छ । त्यही भएर यति ठूलो वितण्डामा पनि प्रधानमन्त्री बालेनले मौनता साँधेका छन् ।

यसअघि सिन्धुलीका एसपीलाई घिसार्ने धम्की दिएका सुनारले म्यादी प्रहरीको पोशाक खरिदमा भ्रष्टाचार भएको, आइजीको घरबाटै ३ करोड नगद चोरी भएको जस्ता गम्भीर आरोप लगाएका थिए । उनको प्रस्तुति पनि निकै आक्रामक र दोषी करार गर्ने किसिमको रहेको भन्दै अहिले सर्वत्र आलोचना समेत भइरहेको छ । पछि, आइजी कार्कीले पनि सांसद सुनार लक्षित कडा जवाफ फर्काएका थिए । ‘प्रहरीलाई घिसार्छु भन्नेले नै नैतिकताको पाठ सिकाउन थालेको’ भन्दै ‘हामी कस्ताबाट शासित हुँदैछौं’ भन्ने आयशको गम्भीर प्रतिक्रिया दिएका थिए ।
समितिमा निकै आक्रामक रुपमा नोकझोक भएपछि सुनार बीचमै उठेर निस्केका थिए । सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दाहरु किनाराकृत नभएको पाइएको छ । केही मुद्दामा अदालतबाट धरौटीमा रिहा भएका सुनारको मुद्दा अझै अन्तिम सुनुवाई हुन बाँकी रहेको छ ।
सांसद सुनारलाई यसअघि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरिएको थियो । तर सुर्खेत जिल्ला अदालतमा उनीविरूद्ध मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा विचराधीन रहेको पाइएको थियो ।
उक्त मुद्दामा २०८१ असार १४ मा सात दिने र साउन २७ गते ३५ दिने पक्राउ पुर्जी जारी भएको थियो । सुनार २०८१ चैत १२ गते आफै हाजिर भएपनि अहिले त्यो मुद्दामा तारेख गुजारेका थिए ।
उता, काभ्रे जिल्ला अदालतमा उनीविरूद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा थियो सो मुद्दामा उनी ५०हजार धरौटीमा रिहा भएका थिए । चारित्रिक प्रमाणपत्र जारी गर्दा नेपाल प्रहरीले रेकर्ड जाँच गर्ने क्लियरेन्स रजिस्ट्रेसन सिस्टम (सिआरएस) मा सुर्खेत र काभ्रेका यी दुवै मुद्दाबारे उल्लेख छ ।
अधिवक्ता मनिषा गौतमले आफूमाथि फेसबुकमा गालीगलौज गरेको भन्दै सुनारविरूद्ध मुद्दा हालेकी थिइन । सुनारले जाजरकोटका नवराज विक हत्या प्रकरणमा सुर्खेत उच्च अदालतको फैसला चित्त नबुझेको भन्दै अदालत बाहिरै हुलहुज्जत र तोडफोड प्रयास गरेका थिए ।
उनले न्यायाधीशहरूमाथि समेत गालीगलौजपूर्ण अभिव्यक्ति दिएका थिए । त्यसपछि अधिवक्ता गौतमले सुनारविरूद्ध सर्वोच्च अदालतमा पनि मानहानिको मुद्दा हालेकी थिइन् । सुनारले त्यति बेला यो सुनारविरूद्ध गालीगलौज गर्दै ‘दिउँसै कालो धन्दा गर्ने नेपाल बार र राति धन्दा गर्ने ठमेलको बारबीच के फरक छ’ भनेर लेखेका थिए । उनले फेसबुककै अर्को पोस्टमा ‘तँ नेपाल बारको होस् कि ठमेल बारको भनेर सोधौं’ भन्दै मनीषाको फोटो र नम्बर फेसबुकमा सार्वजनिक गरेका थिए । अहिले तिनै सुनार प्रहरीविरुद्ध जाइलागेका छन् । लेखा समितिको बैठकमा प्रहरीको पोसाक खरिदमा भएको अनियमितताबारे छलफलका क्रममा सांसद सुनार र आइजिपीबीच दोहोरी चलेको थियो ।
बैठकमा बोल्दै रास्वपा सांसद सुनारले प्रहरीको पोसाक तथा सामग्री खरिदमा ठूलो अनियमितता भएको दाबी गर्दै गृहसचिव र आइजिपीलाई पदबाट हटाएर मात्रै निष्पक्ष छानबिन गरिनुपर्ने माग राखेका थिए । ‘आइजिपी साबको घरबाट ३ करोड रुपैयाँभन्दा बढी चोरी भयो र चोरीमा संलग्न भनिएका मान्छेहरूलाई प्रहरीको विशेष ब्युरोले लगेर यातना दिइरहेको छ,’ सांसद सुनारले आरोप लगाउँदै भने, ‘आरोप लागेका व्यक्ति पदमै बसेर आफूविरुद्धको छानबिनमा प्रभाव पार्न सक्छन् । बर्दी लगाएर बसेर ल मलाई छानबिन गर भन्न पाइँदैन ।’ सुनारले भ्रष्टाचारविरुद्ध प्रश्न उठाएबापत आफूलाई समितिबाट हटाए पनि आपत्ति नरहेको भन्दै आफ्ना भनाइ राखेर बैठकबाट बाहिरिएका थिए ।
सांसद सुनार आरोप लगाए लगत्तै बैठक छाडेर हिँडेपछि अन्य सांसदहरूले आपत्ति जनाएका थिए । नेकपाका सांसद वर्षमान पुनले आरोपित गरेर बैठकबाट भाग्न नपाइने बताए । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले आइजिपीको राजीनामा माग्नु र असभ्य रूपमा प्रस्तुत हुनु अनुशासन बाहिरको कुरा भएको बताइन् । सांसद गोविन्द पन्थी र महेन्द्रबहादुर शाहीले पनि सुरक्षा निकायका प्रमुखलाई समितिमा बोलाएर निलम्बनकै माग गर्नु र अपराधीजस्तै व्यवहार गर्नु दुःखद् भएको टिप्पणी गरे ।
सांसद सुनारको आरोपप्रति कडा आपत्ति जनाउँदै आइजिपी दानबहादुर कार्कीले आफूहरू प्रहरी भएकै कारण सधैं अबगाल खाइराख्नुपर्ने हो भन्दै प्रश्न गरे । मञ्चमा बसेर सजिलै गालीगलौज गर्ने संस्कृति सिक्न नपाइएको भन्दै उनले आक्रोश पोखे । ‘न त ३ करोड हराएको छ, न हाम्रा घरपरिवारका मान्छेहरू संलग्न छन् । प्रहरी भएकै कारणले सधैं सबै कुराको अबगाल खाइराख्नुपर्ने हो र ?,’ आइजिपी कार्कीले चिढिँदै भने, ‘मेरो र मेरो परिवारको बैंक डिटेल्स, कल रेकर्ड जे–जे हेर्नुपर्छ हेर्नुस् । उच्च पदमा बसेपछि कालकुट विष पिएर निलेर बस्नुपर्ने बाध्यता रहेछ ।’












