Logo
Logo

नाडा अटो शो भदौ ९ गतेदेखि सुरु हुने, २०० भन्दा बढी स्टल रहने


441
Shares

काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘नाडा अटो शो २०२६’ यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ। नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा हुन लागेको यस १८औँ संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा मनाइनेछ। ६ दिनसम्म चल्ने यस प्रदर्शनीले नेपालको तीव्र रूपमा विकसित भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक र व्यावसायिक स्वरूपलाई प्रतिबिम्बित गर्ने आयोजकले जनाएका छन्।

यस प्रदर्शनीले अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्नका साथै ग्राहक र व्यावसायिक सरोकारवालाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ। सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याएर अवलोकनकर्ताहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन र प्रविधिको प्रत्यक्ष अनुभव गराउनु यसको मुख्य उद्देश्य हो। यसबाट अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार र स्वदेशी अटोमोबाइल उद्योगको निरन्तर विकासमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ।

प्रदर्शनीमा साना-ठूला गरी २०० भन्दा बढी स्टलहरू रहनेछन्। जसअन्तर्गत २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ वटा ब्रान्डका दुई पाङ्ग्रे सवारी, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र ७० वटा अटोमोटिभ पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण र एसेसरिजका स्टलहरू समावेश हुनेछन्। यी स्टलहरूमा नेपालमै एसेम्बल गरिएका सवारी साधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेलमेट र अन्य विभिन्न सामग्रीहरू समेत प्रदर्शन गरिनेछ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यस पटकको प्रदर्शनीमा नेपालमा निर्मित ‘यात्री’ इलेक्ट्रिकल बाइकका साथै स्वदेशमै एसेम्बल गरिएका विभिन्न स्कुटर, बाइक, टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट्स र हेलमेटहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। नेपालको अटोमोबाइल क्षेत्र अब आयातमा मात्र निर्भर नरही बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्योगतर्फ अघि बढिरहेको सन्देश दिनुका साथै नेपालमै अटोमोबाइल उत्पादन सम्भव छ भन्ने देखाउन यो प्रदर्शनी प्रभावकारी हुने उनले बताए।

यस वर्षको नाडा अटो शो विशेष गरी विद्युतीय सवारी साधन प्रतिको आकर्षण, दिगो गतिशीलता र विश्वस्तरीय नवीनतम प्रविधिलाई एकै थलोमा प्रदर्शन गर्ने भव्य मञ्च बन्ने अध्यक्ष उप्रेतीको दाबी छ। यस मेलाले शिथिल बनेको अटोमोबाइल बजारलाई चलायमान बनाउन, उपभोक्तामा उत्साह जगाउन र देशको अर्थतन्त्रलाई गति दिन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। एचपी लुब्रिकेन्ट्स (HP Lubricants) मुख्य प्रायोजक रहेको यस ६ दिने मेलामा करिब २ लाख आगन्तुकले अवलोकन गर्ने अनुमान आयोजकको छ।

प्रतिक्रिया दिनुहोस्