Logo
Logo

रास्वपा सांसद धितालले भनिन्-नागरिकलाई सरकार भएको अनुभूति भएको छैन


0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले रोल्पामा बाढी र पहिरोका कारण उत्पन्न भयावह स्थिति र जिल्लाको समग्र दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

The current image has no alternative text. The file name is: karntisila-dhital.jpg

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै सांसद धितालले रोल्पाका थबाङ, सुनछहरी र लुङग्री क्षेत्रमा प्राकृतिक विपद्का कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको र केही नागरिक अझै बेपत्ता रहेको जानकारी दिएकी हुन् । उनले मान्छेको अमूल्य ज्यानलाई केवल अङ्कमा मात्र सीमित राखिएको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । सांसद धितालले रोल्पा ऐतिहासिक रूपमा राजनीतिक विद्रोह, प्राकृतिक विपद् र दुर्घटनाहरूको निरन्तर चपेटामा परिरहेको उल्लेख गरिन् । केही महिनाअघि भएको जीप दुर्घटनामा १९ जनाको ज्यान गएको स्मरण गराउँदै उनले रोल्पाका नागरिकहरू सधैँ शोक र त्रासमा बाँच्नुपर्ने नियतिप्रति दुःख व्यक्त गरिन् । परिवर्तनको इतिहास बोकेको र १० वर्षे सशस्त्र द्वन्द्वको मुख्य केन्द्र रहेको रोल्पा अझै पनि विकासको न्यूनतम पूर्वाधारबाट वञ्चित रहेको उनको तर्क रहेको छ । 

उनले भनिनन्, ‘तथ्याङ्कमा मृत्यु हुनेको सङ्ख्या गन्न सकिएला, तर परिवारले गुमाएको अभिभावक वा सन्तानको रिक्तता कुनै राहत वा क्षतिपूर्तिले भर्न सक्दैन । परिवर्तनको सपना बोकेको जिल्ला आज समृद्धिको उदाहरण बन्नुपर्ने थियो, तर आज पनि सामान्य हावा चल्दा सदरमुकाममै विद्युत् अवरुद्ध हुन्छ । गाउँहरूमा सडक, सञ्चार, स्वास्थ्य र शिक्षाको अवस्था झन् दयनीय छ । राज्यको उपस्थिति केवल तथ्याङ्क सङ्कलनमा मात्र होइन, नागरिकको दुःखमा सहानुभूति र संवेदनशीलतामा देखिनुपर्छ ।’

विगतको सशस्त्र युद्धको गहिरो प्रभाव (ट्रमा) बाट गुज्रिरहेका रोल्पालीहरूका लागि थबाङ जस्तो ऐतिहासिक ठाउँ ‘वार म्युजियम’ बन्नुपर्नेमा, आज त्यहाँका नागरिकहरू वर्षाको समयमा ज्यान जोगाउनै मुस्किल पर्ने स्थितिमा रहेको उनले बताइन् । सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउन आग्रह गर्दै उनले विपद् आएपछि राहत बाँड्ने परम्पराभन्दा पनि विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित राख्ने दीर्घकालीन योजना ल्याउन माग  गरिन् ।

प्रतिक्रिया दिनुहोस्