
काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने सहमति भएको छ ।
मंगलबार हेटौँडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिइने र थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेको हो ।
यसअघि साउन २७ गते थपलियाविरुद्ध एमालेका १६ जना प्रदेश सभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए । तर, पार्टी नेतृत्वको पहलमा थपलियालाई दलको नेतामै कायम राख्दै थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने सहमति जुटाइएको हो ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिसकेका छन् ।
बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेश गर्ने समय तोकिएको छ । एमाले–नेकपा गठबन्धनसँग ५१ सांसद रहेकाले थापालाई मुख्यमन्त्री बनाउन थप दुई सांसदको समर्थन आवश्यक पर्नेछ ।












