
मुलुककाे वाम आन्दोलन रक्षात्मक अवस्थामा पुगेपछि कम्युनिष्ट पार्टी पुनर्गठनको बहस तिव्रताका साथ चलेको छ । प्रमुख वाम घटक एमालेमा पनि पार्टी पुनर्गठनको एजेण्डा नेताहरुले प्रखरताका साथ उठाएका छन् । यसैबीच, एमालेमा नेतृत्व परिवर्तको विषयलाई लिएर पार्टीभित्र विवाद समेत निम्तिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तनको विषयलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टीको आन्तरिक राजनीति र सिंगो वाम आन्दोलनको पुनर्गठनको विषयमा केन्द्रित रहेर दृष्टिका लागि हिरेन्द्र शाहीले एमालेका युवा नेता रमेश पौडेलसँग गरेको कुराकानीको सम्पादित अंशः
नेपालको वाम आन्दोलन र एमालेको पुनर्गठनलाई कसरी हेर्नुभएको छ ?
आज आएर ‘अल्गोरिदम’ले नेपाली समाजको ‘ब्रेनवास’ गरिदिएको छ । सामाजिक सञ्जालका विभिन्न प्लेटफम मार्फत पुरानाको विरुद्धमा नकारात्मक भाष्य स्थापित गरिएको छ । त्यसपछि सबैलाई साँच्चिकै त्यस्तै हो कि जस्तो लाग्न थाल्यो । आम जनता त्यसकै भ्रममा परेर यस पटक बहकिएको अवस्था हो । अर्को कुरा के छ भने यसअघि एउटा वाम दलले पराजय व्यहोरे पनि अर्को वाम दल बलियो हुँदै आएको थियो तर यो निर्वाचनमा जनताले मत र मन दुबै बदलेर सामाजिक सञ्जालबाट उदय भएको दल र पात्रलाई जिताएका छन् । यो चाहिँ निकै विचारणीय छ ।
मुलुकमा भएका विकासलाई जनताले नदेखेरै नकारात्मक भाष्यकै पछि लाग्ने क्रम सुरु भयो । युरोपियन र अमेरिकीको अवस्था हेरेर यहाँको तुलना गर्ने काम भयो । त्यसबाटै आम मानिसमा भ्रमपूर्ण वातावरण बनाएर नै अहिलेको अवस्था आएको हो । अनेकौं तवरले परिचालित पात्रहरु यसमा प्रयोग भए र अधिकांश नेताहरु सबै बिग्रिए भन्ने भ्रममा पर्दा मुलुकमा अराजकताले प्रश्रय पाएर अहिले अराजनीतिक पात्रको हातमा मुलुक गएको छ ।
यो देशमा प्रगितिशीलता, विकास र समृद्धिको बाटोमा लगेका वामपन्थी दलहरुमाथि आक्रमण भयो । राष्ट्रियता र सार्वभौमिकताको पक्षधर शक्तिलाई परास्त गर्न डिजिटल सेना खडा गरियो । तर त्यसलाई रोक्ने हाम्रो पूर्वतयारी हुन सकेन । आफू बीच लड्न वामपन्थीहरुले सिके तर आफ्ना विरोधीको षड्यन्त्र विरुद्ध लड्न नसक्दा अहिले कमजोर हुनुपरेको छ ।
‘अल्गोरिदम’लाई रोक्न सक्ने संयन्त्र बनाउन त चुक्नुभएको रहेछ नि ?
‘अल्गोरिदम’ले अन्यत्र हानेन, मानिसको सिधै दिमागमा हान्यो । गोयबल्स शैलीमा हाम्रा विरुद्ध दुष्प्रचार गरे । त्यसले हाम्रो संरचना भत्कियो, तथापि अझै पनि हाम्रो जग चाहिँ बलियो छ । एमाले फिनिक्स पन्क्षी जस्तै उठ्छ । हिजो पार्टी फेरिएको थियो । विचारधारा यथावत थियो तर अहिले विचारधारा, मूल्य मान्यता नै फेरेर मत परिवर्तन भएकाले अल्लि बढी मिहेनत गर्दै जनतालाई पुनः आश्वस्त तुल्याउनुपर्छ ।
हिजो बहुदलकालमा दश हजार किमी बाटो मात्रै थियो । अहिले प्रत्येक गाउँमा मोटर बाटो पुगेको छ । बाल मृत्युदर र मातृमृत्युदर न्यून भएको छ । तर यसको विरुद्ध नकारात्मक हौवा फैलाएर अल्गोरिदमले मुलुक कब्जा गर्न पुग्यो । अब जनताले वास्तविकता विस्तारै बुझ्दै गएका छन् । यो क्षणिक रमझम हो भन्ने जनताको तहबाट अनुभूति हुँदैछ । तैपनि हामी सच्चिनुको विकल्प छैन ।
एमालेले पटक पटक पाएको अवसर गुमाउँदा नै यो अवस्था आएको हैन र ?
राजनीति जहिले पनि वक्र रेखामा हिँड्छ । विगतमा एमालेले कहिले एक्लो कहिले गठबन्धन गर्दै सरकार चलाउँदै आएको हो । जोसँग मिलेर पनि सरकार बनाउने प्रवृत्तिले पनि हामीप्रति जनविश्वास गुमेको हो । हामीले सरकारमा रहेर जनपक्षीय काम गर्नुपर्नेमा सरकार जोगाउन मात्रै प्राथमिकता दियौं । सरकार टिकाउन जे पनि हत्कण्डा प्रयोग गर्ने प्रवृत्तिले दलहरुबीचको फरकपन नै हराएको हो । विचारधारात्मक रुपमा पल्लो किनारको दललाई लिएर हिँड्ने प्रवृत्तिले सरकार मात्रै अभिष्ट रहेको देखियो । सजातीयहरुबीच सहकार्य हुनुपर्नेमा जोसँग पनि सरकार बनाउनु नै मुख्य ठान्ने कुरा जनताले गम्भीरताका साथ हेरिरहेका थिए । ‘काले काले मिलेर खाउ भाले’भन्ने जस्तो कामलाई जनताले नरुचाएको हो ।
हामीले गरेको राम्रो काम ‘अल्गोरिदम’ले सकारात्मक रुपमा प्रचार हुन दिएन भने बेठिक कार्यलाई चौतर्फी ढंगले प्रचारित गरियो । सरकार बनाउने नाममा जोसँग पनि मिल्ने प्रवृत्ति गलत भयो । यसको गम्भीर समीक्षा गर्दै अगाडि बढ्नुको विकल्प छैन । त्यसको लागि सबैभन्दा पहिले नेतृत्व परिवर्तन हुनुपर्छ । आफ्नै जनता र भुइँमान्छेको बीचमा एमाले फर्किनुपर्छ । अब परम्परागत विचार र नेतृत्व दुबैले चल्दैन । त्यसका लागि एमाले मात्रै होइन सबै पार्टीमा पुनर्गठन अपहिार्य भइसकेको छ ।
अब एमालेको पुनर्गठन कसरी गर्नुहुन्छ ?
एमालेको विगतदेखिकै मत परिणाम हेर्दा हामी कहिलेकाही चुकेका छौं । साझा विषयमा सबैसँग एकाकार भएर जान्छौं । तर कार्यक्रमिक हिसाबले फरक देखाउनुपर्छ । हामीले जनतालाई श्वेतपत्र जारी गरी हाम्रा राम्रा कामको फेहरिस्त प्रस्तुत गर्दै गलत कामको निम्ति क्षमा माग्नुपर्छ । एमालेले मुलुकका लागि केके ग¥यो त्यो जनतालाई स्पष्टरुपमा बुझाउनुपर्छ । राम्रो कामको जानकारी दिँदै कमजोरीको माफी मागेर मात्रै अब एमाले अघि बढ्छ । हामी नेपालका वामपन्थीहरुले गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ । अब पार्टी ‘रिफर्म’ नगरी हुँदैन । पहिले आफू सही भएर मात्रै अबको वाम आन्दोलन उठ्छ । अहिले हामीभित्रैका समस्या र खराबी पहिचान गर्दै त्यसलाई निरुपण गरेर मात्रै एमाले पुनर्गठन गर्नुपर्छ । एमालेमा आजको युग र प्रविधि सापेक्ष नयाँ पिढीलाई गोलबन्द गर्दै जाुनपर्छ । कुनै सामन्ती र कम्युनिष्ट पार्टीको नेताबीच फरक छुट्टिन नसक्ने अवस्थाको अन्त्य गरेर मात्रै अब वाम आन्दोलनप्रति जनताको विश्वास पुनः जागृत हुन्छ ।
कम्युनिष्ट पार्टीको नेता जनतालाई आशा जगाउने खालको नभएर अर्कै वर्गको प्रतिनिधित्व गर्ने पात्र जस्तो भएर नै जनताले सबै एकै ठानेका हुन् । विचार र नेतृत्वमा प्रष्टता नभएसम्म नेपालको कम्युनिष्ट आन्दोलन अब अघि बढ्न सक्दैन । विचार, कार्यशैली र संगठन सबैमा फरकपनको अनुभूति दिलाउने र भद्दा पार्टी कमिटी भंग गर्दै नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।
एमालेमा नेतृत्व रुपान्तरण तथा परिवर्तन कति सम्भव छ ?
सम्भव छ, अब समाज हिजोको जस्तो रहेन । हाम्रा सामाजिक संरचना परिवर्तन भएको छ । हाम्रा विचारधारा र मार्गदर्शनलाई पनि पुनर्विचार गर्न जरुरी छ । सबै ‘अल्गोरिदम’ र भूराजनीतिक कारण मात्रै होइन, यसमा हाम्रा आफ्ना पनि कमजोरी छन् । हाम्रो व्यवस्था बलियो भएको भए यस प्रकारको आक्रमण हुन सक्दैनथ्यो । जेनजी विद्रोहलाई हेर्ने दृष्टिकोणमा पनि प्रष्टता हुन जरुरी छ । अहिलेको बदलिएको समाज र मनोविज्ञानलाई सम्बोधन गर्नेगरी नेतृत्व पनि रुपान्तरित हुन आवश्यक छ । तर त्यसको पनि आफ्नै विधि र प्रक्रिया छ । त्यही अनुसार सांगठनिक संरचना र नेतृत्व परिवर्तन हुन्छ ।
अब कसरी एमालेको नेतृत्व परिवर्तन गर्नुहुन्छ ?
मैले पात्र र प्रवृत्तिको कुरा गर्छु । प्रवृत्ति उही भए पात्र मात्रै परिवर्तन गरे त्यसले परिणाम दिँदेन । हामीले जनतातिर फर्किएको पार्टी बनाउन खोजेका हौं । त्यसका लागि प्रचण्ड, माधव नेपाल, केपी ओली सबै परिवर्तन हुन जरुरी छ । नेपालमा एमाले कमजोर भएकाले नै नेपालको वाम आन्दोलन पनि कमजोर भएको हो । एमालेमाथिको आक्रमण सबै वामपन्थीमाथिको आक्रमण हो । त्यसकारण एमालका सबै नेताहरुले गम्भीरताका साथ यस तथ्यलाई मनन गर्न आवश्यक छ ।
सबैलाई एक ठाउँमा ल्याएर वामपन्थीलाई मजबुद बनाउने कुरालाई अब एमालेले जोड दिनुपर्छ । सबैलाई जोडेर मात्रै एमाले बन्न सकिन्छ । कसैको आग्रह, पूर्वाग्रह र प्रतिशोधले अब पार्टी चल्दैन । अहिले पार्टीभित्र कार्यदल बनेको छ । यसले एक खालको परिस्थिति बनाएर नै पार्टी पुनर्गठन हुन्छ । अहिले मुख्य कुरा हामीसँग जनता रिसाएका छन् । त्यसैले जनतामा फर्किएर हामी सच्चिन सक्यौ भने फेरि एमाले बलियो राष्ट्रिय शक्ति बन्छ । त्यसका निम्ति नयाँ कार्यक्रम र योजनासहित जनतामा आशा जगाउनुपर्छ ।
वाम आन्दोलनले आफ्नो पक्षधरता छाड्दा नै आजको अवस्था आएको हो नि हैन ?
हामीले वर्ग बिर्सियौ, वर्गले हामीलाई बिर्सिएको अवस्था हो । आजको विश्व व्यवस्थाको प्रभाव नेपाली समाजमा पनि परेको छ । यहाँका वामपन्थी पार्टीहरु त्यही विश्व व्यवस्थाकै कारिन्दा बन्न पुगे । हाम्रो नेपाली परिवेश अनुसार शिक्षा दिन सकेनौं । वामन्थी हुनुभनेको देशभक्त हुनु पनि हो भन्ने कुरा बुझ्न र बुझाउन सकेनौं । अहिलेको विश्व व्यवस्थाले हाम्रा विचारधारा र मूल्य मान्यताहरु विस्थापन गर्दै गइरहेको छ । अहिले वामपन्थ एवं प्रगतिशील विचारतर्फ जनताको सम्बन्ध विच्छेद हुँदैछ । यसलाई रोक्न सकिएन भने वर्गसँग सम्बन्ध थप कट्दै जान्छ । हाम्रो व्यवहारले नै आधारभूत वर्ग टाढिएका हुन् । अझै पनि त्यसलाई सच्याउन सकेनौं भने झनै प्रतिकूल अवस्था आउनेवाला छ । मान्छेलाई मान्छे बनाउन सबैभन्दा पहिले वामपन्थीहरु ठिक ठाउँमा आउनुपर्छ ।
अन्त्यमा, नेपालका वामपन्थी युवाहरुलाई के भन्न चाहानुहुन्छ ?
सबैभन्दा पहिले राष्ट्रका बारेमा सोचौं । सामाजिक समानता कायम राख्नतर्फ आआफ्नो ठाउँबाट प्रयत्न गरौं । सबै प्रकारका विभेदका विरुद्ध उभिएर विकासको अगुवाई गर्नुपर्ने अहिलेको आवश्यकता हो । देशलाई केही न केही योगदान दिन सक्नुभयो भने मात्रै नेपाली हुनुको सार्थकर्ता हुन्छ ।
अहिले फेसबुकले बनाइदिएको पार्टी, च्याट जिपीटीको माध्यमबाट बोल्ने सांसदहरु छन् । अहिले एमआरआरको माध्यमबाट धार्मिक जागरण ल्याउन खोजेको जस्तो देखिन्छ । अहिले विज्ञान र प्रविधिको जमाना हो । मानिसहरुमा भइरहेको विभेदको कुरा एमआरआरले उठाएको छ कि छैन ? अग्रगमनको कुरा यसले उठाएको छ कि छैन ? नेपाली समाजलाई फेरि पछाडि फर्काउन खोजिएको त हैन ? अहिले नेपाली समाजलाई मिलाउने र संयोजन गर्ने शक्तिको आवश्यकता हो । यो कुरालाई युवाले गम्भीरतापूर्वक सोच्नुपर्छ । नेपाली समाजलाई अग्रगतितर्फ लैजाने काम गर्न म सबै युवा साथीहरुलाई आग्रह गर्दछु ।












