काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ले बङ्गलादेश हाई–परफर्मेन्ससँग पहिले ब्याटिङ गर्ने भएको छ ।

पहिलो खेलमा आयोजक नबर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।
बङ्गलादेश हाई–परफर्मेन्सले टस जितेर बलिङ रोजेको हो । डार्विनस्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपराह्न २ः१५ बजे खेल सुरु हुने छ ।
नेपाल ‘ए’ले पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि आज ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै बङ्गलादेश हाई–परफर्मेन्सलाई चुनौती दिने तयारी गरेको छ । प्रतियोगिताको सुरुआतमै हार व्यहोरे पनि नेपालसँग लिग चरणमा सुधारको अवसर बाँकी छ ।
नेपालले यसअघि गत वर्षको टप एन्ड टी–२० मा पनि बङ्गलादेश ‘ए’ विरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाल २९ रनले पराजित भएको थियो ।
प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा छ खेल खेल्ने भएकाले नेपालका लागि आजको खेलपछि पनि अगाडि बढ्ने पर्याप्त अवसर रहनेछ ।














