काठमाडौं । एशियाली खेलकुदमा ९ पल्टसम्मको सहभागितामा नेपालको उसु खेलले अहिलेसम्म यादगार बनाउन सकिरहेको छैन । सन् १९५४ को पहिलो एसियाली खेलदकुदबाट नै नेपालले सहभागिता जनाउन थाले पनि नेपालका उसु खेलाडीले सन् १९९० को ११ औँ संस्करणदेखि मात्र प्रतिस्पर्धा गर्ने अवसर पाए । त्यसयता, एसियाली खेलकुदको ३६ वर्षको यात्रामा नेपाली खेलाडीले अहिलेसम्म पदक दिलाउन सकेका छैनन् । यसपल्ट जापानको नागोया/आइची सहरमा एसियाली खेलकुदको २० औँ संस्करण आयोजना हुँदै छ । जसमा नेपालको २२ वटा खेलमध्ये उसु खेल पनि समावेश छ । आगामी सेप्टेम्बर १९ देखि हुने एशियाली खेलकुदमा नेपालले थाउलो र सान्सौं विधामा प्रतिस्पर्धा गर्दै छन् ।

कुल ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । च्यातिएका र भिजेका म्याटमा एसियन गेम्सको तयारी गरिरहेको खेलाडीहरू पदक जित्ने विश्वासमा छन् । थाउलो खेलाडीको म्याट च्यातिएका छन् भने खेल्ने स्थानमा पानी जम्ने गरेको छ । नेपाल उसु महासङ्घका पदाधिकारी र खेलाडी पानी फ्याँक्दै प्रशिक्षण सुरु गर्ने गर्छन् । १९ औँ एसियन गेम्समा थाङछ्वान विधामा विजयी सिन्जाली सातौं र सुस्मिता तामाङ आठौँ भएका थिए । यो प्रदर्शन नै एसियाली खेलकुदमा नेपालका उसु खेलाडीले दिलाएको सबैभन्दा ठूलो हो । यद्यपि, यसपल्ट लामो समयदेखि मिसन २०२६ को नामबाट तयारी र वैदेशिक प्रशिक्षणबाट खेलाडी र प्रशिक्षक पदक जित्नेमा आशावादी छन् ।
नेपाली उसुका मुख्य प्रशिक्षक गणेश अर्यालले करिब १८ महिनादेखि खेलाडीले तयारी गरिरहेको बताउँछन् । यद्यपि डाइटसहित क्याम्पमा राखेको धेरै समय नभएको उनले उल्लेख गरे । थाउलो विधाले एक महिना चीनमा प्रशिक्षण गरेर आएपछि धेरै पक्षमा सुधार आएको उनको विश्वास छ ।
उसुमा आठ पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । उसुमा थाउलु र सान्सौं गरेर मुख्यतय दुई विधा हुन्छन् । सान्सौं (फाइट) विधातर्फपुरुष ५६ केजीमा रोहित चुनारा, ६० केजीमा मुकेश पण्डित, ६५ केजीमा अमर सुनार र ७५ केजीमा सञ्जीव महर्जनले चुनाती प्रस्तुत गर्दै छन् । महिला ६० केजी तौल समूहमा रिता ठकुल्ला छिन् । सान्सौं टोलीका प्रशिक्षकमा तुलसीनन्द बज्राचार्य छन् । सान्सौका प्रशिक्षक बज्राचार्यले प्राप्त सेवा सुविधाअनुसार खेलाडीले पनि मेहनत गरिरहेको बताए । स्पाइरिङ र टेक्निकल रूपमा खेलाडीले तयारी गरिरहेको उनी बताउँछन् । तर फाइटमा पूर्ण रूपमा भिडेर प्रशिक्षण गराउन नपाएको उनको भनाइ छ । फिल्डमा चिकित्सक र फिजियोथेरापिस्ट नहुँदा सजक भएर खेल्नुपरेको प्रशिक्षक बज्राचार्य बताउँछन् । राष्ट्रिय खेलकुद परिषद्बाट आवश्यक सेवा सुविधा पाउन नसकेको उनको भनाइ छ । तर पनि सीमित सुविधा पाए पनि खेलाडीले उत्कृष्ट दिएको उनको विश्वास छ ।
महिला ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्न लागेकी रिता ठकुल्ला पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछिन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नै पदक जित्ने उनको विश्वास छ । यद्यपि, एशियाली खेलकुद जस्तो प्रतिस्पर्धामा तयारी गर्दा पर्याप्त र आवश्यक म्याट उपलब्ध हुन नसक्दा उनको दुखेसो छ । कोही खेललाई विदेशमा प्रशिक्षण अवसर पाइरहेको अवस्थामा सान्सौले प्रशिक्षण गर्ने स्थान पनि राम्रो नपाएको रिता बताउँछिन् । उसुकै म्याट बिना नै आफूहरूले तयारी गरिरहेको उनको भनाइ छ । प्रशिक्षण गरिरहेको हल र म्याटले गर्दा सबै खेलाडीको मनोविज्ञानमा पनि असर परिरहेको सान्सौं विधाकी खेलाडी रिता ठकुल्ला बताउँछिन् । तर यसका बाबजुद सबै खेलाडीले सतप्रतिशत दिएर खेलेका छन् ।
यद्यपि, नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गानाले तीन वर्षदेखि उसुको म्याटका लागि पहल गरिरहेको दाबी गरे । मिसन २०२६ को प्रशिक्षण सुरु भएयता नै उसुको म्याटका लागि सरकारसँग माग गरेको उनी बताउँछन् । थोरै मूल्यको सामान महासङ्घले किने पनि लाखौँ पर्ने सामानका लागि सरकारको सहयोग बिना सम्भव नहुने महासङ्घका महासचिव ढुङ्गानाले उल्लेख गरे । राज्यले त्यसबारे सुनिरहे पनि नतिजा आउन नसकेको उनले बताए । महासङ्घले आफ्नो तर्पmबाट गर्नुपर्ने काममा कुनै कमी नहुन नदिएको उसु महासङ्घको दाबी छ ।
अहिले प्राप्त सेवासुविधाबाट खेलाडीले उत्कृष्ट तयारी गरिरहेका छन् । महासचिव ढुङ्गानाले महासङ्घकै पहलमा एक महिनासम्म खेलाडीलाई चीनमा प्रशिक्षण गराएको बताए । थप वैदेशिक प्रशिक्षण र अन्य सेवासुविधाका लागि पहल गरेको महासचिव ढुङ्गानाले दाबी गरे । तर अभैm खेलाडीले दिनुपर्ने सुविधामा चुकेको उनले स्वीकार गरे ।
नेपाली उसुका सबैभन्दा ठूलो सफलता प्राप्त गर्ने खेलाडी विजय सिन्जाली हुन् । उनले जापानमा भएको सन् तेस्रो थाउलो विश्वकपमा कांस्य पदक पाएका थिए । सोही पदक प्राप्त गरेपछि विजयले नेपाल सरकारबाट ६५ लाख पुरस्कार पनि पाए । एकैपटक यति धेरै पुरस्कार पाउने उनी पहिलो नेपाली खेलाडी हुन् । पछिल्लो एशियन गेम्स पनि खेलका विजयबाट यसपल्टको एशियन गेम्समा आशा गरिएका खेलाडी हुन् । चीनमा भएको विशेष प्रशिक्षणबाट राम्रो प्रदर्शन गर्नसक्ने उनको पनि विश्वास छ । तर आफ्नो टोलीले च्यातिएको र पानीले भिजेको म्याटमा प्रशिक्षण गर्नुपरेको उनको गुनासो छ । म्यानेजर बिना नै आफ्नो टोली रहेको उनले उल्लेख गरे । तर, आफूहरूले राम्रो वातावरण राम्रो नपाए पनि जतिसक्दो उत्कृष्ट दिने लक्ष्य रहेको विजय बताउँछन् ।
थाउलुको प्रशिक्षकमा प्रकाश महर्जन हुन् । थाउलुका प्रशिक्षक महर्जनले लामो समयदेखि तयारी र वैदेशिक प्रशिक्षणले खेलाडीमा धेरै सुधार आएको आशा व्यक्त गरेका छन् । यद्यपि, पछिल्लो १८ महिनामा बिच बिचमा खेलाडीको प्रशिक्षणमा अवरोध भएको उनले उल्लेख गरे । विगतभन्दा यसपल्ट खेलाडीहरूमा धेरै पक्षमा राम्रो प्रदर्शन आएको उनी बताउँछन् । तर प्रशिक्षणका लागि राम्रो र आवश्यक म्याट पाउन नसकेको उनले पनि गुनासो गरे । खेलाडीले खराब माहोलमा प्रशिक्षण गर्नुपरे पनि पदक जित्ने आत्मबलका साथ तयारी गरिरहेको प्रशिक्षक महर्जनको विश्वास छ । खेलाडी पनि धेरै मिहेनत गरेको उनी बताउँछन् ।
थाउलु विधातर्फ छाङक्वानमा विजय र सुष्मिताले खेल्नेछन् । थायची छ्वान/थायची चेन सु अलराउन्डमा हरिप्रसाद गोले र सविता राई तथा नानछ्वान/नान कुन सु अलराउन्डमा दीपक हमालले प्रतिस्पर्धा गर्ने तयारी छ । कुनसु/ताओसुमा राजीव तामाङले खेल्दैछन् । दीपक र विजय १३औँ दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुन् । लामो समयदेखि राष्ट्रिय टोलीमा रहेका यी दुईसँगै अन्य खेलाडी पनि खराब प्रशिक्षण स्थलमा तयारी गरे पनि उत्कृष्ट नतिजा दिने विश्वासमा छन् ।















