काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीका रूपमा उनले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।

विश्वासको मतका लागि आवश्यक पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा हाल ९२ सांसद कायम छन् ।
सत्ता समीकरणमा रहेका नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ गरी ५७ सांसद छन् । यस्तै, नेपाली कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित ५ र जनता समाजवादी पार्टी नेपालका १ सांसद छन् ।
कांग्रेसले भदौ ३ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।
















