काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई २-१ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ । उता गएराती नै सम्पन्न अर्को खेलमा लिभरपुल भने न्युक्यासल युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।

इतिहाद रङ्गशालामा भएको खेलमा बोर्नमाउथले २६औँ मिनेटमा मार्कस टाभर्नियरको गोलबाट अग्रता लिएको थियो । घरेलु टोलीले लगातार दबाब बनाए पनि लामो समयसम्म गोल गर्न सकेन । म्यानचेस्टर सिटीले ८४औँ मिनेटमा बराबरी गोल फर्कायो । रयान चेर्कीको कर्नर प्रहारबाट आएको बललाई मार्क गुहेले हेडमार्फत गोल गर्दै खेल -१ को अवस्थामा पुर्याएका थिए ।
त्यसपछि थप समयको पहिलो मिनेटमा जोस्को ग्भार्डियोलले गोल गर्दै सिटीलाई २-१ को रोमाञ्चक जित दिलाएका हुन् । उनको गोललाई सुरुमा अफसाइड दिइए पनि भिडियो सहायक रेफ्रीको जाँचपछि गोल मान्यता दिइएको थियो ।
यस जितसँगै नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा म्यानचेस्टर सिटीले लिगमा विजयी सुरुआत गरेको छ । खेलमा सिटीले बलमा ६६ प्रतिशत नियन्त्रण राख्दै बोर्नमाउथमाथि लगातार दबाब बनाएको थियो ।
















