
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभा सदस्य उद्धव थापालाई पदमुक्त गर्न माग गर्दै प्रदेश सभामा पत्र बुझाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको पत्र राप्रपाकी बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंलाई आज बुझाएकी हुन् ।
राप्रपाको केन्द्रीय कार्यालयबाट भदौ ८ गते जारी पत्रमा थापाले पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि पार्टीका सांसदको समर्थन रहेको भन्दै आफूखुशी प्रदेश प्रमुखसमक्ष पत्र बुझाएको उल्लेख छ ।
राप्रपाले थापाको कदमलाई पार्टीको नीति, निर्देशन र विधानविपरीत अनुशासनको गम्भीर उल्लंघन भएको दाबी गरेको छ । सोही आधारमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले थापालाई बागमती प्रदेश सभाको सदस्य पदबाट पदमुक्त गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ ।
राप्रपाका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको भदौ ४ गते बसेको बैठकले अनुशासन समितिको सिफारिशका आधारमा थापालाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गर्ने निर्णय गरेको हो । पत्रसँगै राप्रपाले थापामाथि कारबाही गरिएका विभिन्न आठ वटा कागजातसमेत प्रदेश सभामा बुझाएको छ ।
जसमा साउन २० गतेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय, साउन २१ गतेको बागमती प्रदेश सभा संसदीय दलको निर्णय, भदौ १ गते संसदीय दललाई पार्टीले दिएको निर्देशन, सोही दिनको संसदीय दलको निर्णय, अनुशासन समितिले मागेको स्पष्टीकरण र समितिको सिफारिश समावेश छन्।
यस्तै, भदौ ३ गते बागमती प्रदेश प्रमुखलाई पठाइएको पत्र र भदौ ४ गते केन्द्रीय कार्यसम्पादन समितिले थापालाई पदमुक्त गर्ने निर्णयको प्रतिलिपिसमेत प्रदेश सभामा बुझाइएको छ ।













