
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दिएका छन् ।
उनीहरूले वारेसमार्फत् आज पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् । संस्थापन केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो ।
उक्त केन्द्रीय महाधिवेशन कार्यतालिका यथावत् राखेर हालै केन्द्रीय निर्वाचन समितिले तल्ला तहका अधिवेशन तालिका प्रकाशित गरेको थियो । त्यसविरूद्ध देउवा र खड्का आज रिट लिएर वारेसमार्फत् सर्वोच्च पुगेका हुन् ।
विशेष महाधिवेशनबारेको सर्वोच्चको निर्णय पुनरवलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो । त्यसैले उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने पक्षमा देउवा र खड्का समूह छन ।
देउवा र खड्काले निर्वाचन समितिले महाधिवेशन कार्यतालिका ल्याएकोले उक्त बदर गर्न माग गरेका छन्। भदौ ५ गते पनि रिट दिएर देउवा पक्ष सर्वोच्च पुगे पनि केही सच्याउनुपर्ने भन्दै फिर्ता लगेका थिए । सर्वोच्च अदालतका सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै दुईवटा रिट आएको बताए । उद्यपी, उक्त रिटहरु अध्ययनकै क्रममा रहेको उनले बताए ।













