
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन गत भदौ ३ गते फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत र विपक्षमा २२ मत पर्यो भने मत दिन्न भन्ने सांसदको सङ्ख्या ४ रहेको छ ।
मुख्यमन्त्री कार्कीले पाएको उक्त मत ९२ सदस्यीय प्रदेशसभाको बहुमत ४७ भन्दा बढी हो । मत विभाजनमा ८३ जना सांसद सहभागी भएका थिए । प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थित थिइन् । कार्कीलाई एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७ सांसदले विश्वासको मत दिएका हुन् ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच साउन ९ गते भएको तीन बुँदे सहमतिसँगै प्रदेशमा नयाँ सत्ता समीकरण बनेको हो ।













