Logo
Logo

हिजो निर्मला, आज गरिमाः कहाँ थियो राज्य ?


0
Shares

कहिलेकाहीँ कुनै खबर पढ्दा आँखा मात्रै रसाउँदैनन्, मन नै भारी हुन्छ । शब्दहरू पढ्दै जाँदा घाँटी अवरुद्ध हुन्छ । बाराको जितपुर–सिमरामा तीन वर्षीया गरिमा चौधरीको हत्या त्यस्तै खबर हो । उमेर जम्मा तीन वर्ष । संसार कस्तो हुन्छ भनेर बुझ्न थालेकी पनि थिइनन् । राम्रो–नराम्रो छुट्याउने चेतना आइसकेको पनि थिएन । आमाको काख, घरको आँगन, खेलौना र वरिपरिका मानिसहरू नै उनको सानो संसार थियो । तर त्यही संसारबाट गरिमा एकाएक हराइन् । तीन दिनपछि उनको शव भेटियो । प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा बलात्कारपछि हत्या भएको जनाएको छ ।

यो केवल एउटा बालिकाको हत्या होइन । यो हाम्रो समाजको संवेदनामाथि लागेको गम्भीर प्रश्न हो । अनि सबैभन्दा डरलाग्दो कुरा– आफ्नै घर आँगन र छिमेक वरिपरि पनि बालबालिका कति असुरक्षित छन् भन्ने तीतो यथार्थ पनि हो । 

गत साउन ३१ गते बिहान करिब साढे ८ बजे जितपुर–सिमरा उपमहानगरपालिका–१, दसधुरेकी गरिमा घरबाट एकाएक हराइन् । केहीबेरसम्म छोरी नदेखिएपछि उनकी आमा मानमती चौधरीले प्रहरीलाई खबर गरिन् । मजदुरीमा गएका श्रीमानलाई पनि फोन गरिन् । एउटा आमाका लागि त्यो क्षण कति त्रासदीपूर्ण थियो होला रु घरवरिपरि तीन वर्षीया छोरी खोजिरहेकी आमा । एकछिनअघिसम्म खेलिरहेकी बच्चा अचानक गायब हुन्छ । खोज्दा पनि भेटिँदैन, आशा र डरबीच बितेको त्यो समय शब्दमा बयान गर्नै गाह्रो छ ।

तर यहीँबाट एउटा गम्भीर प्रश्न उठ्छ– तीन वर्षको बच्चा हराएको खबर पाएपछि खोजी कति तीव्र हुनुपथ्र्यो रु यस्तो उमेरको बालिका हराउनु सामान्य घटना कसरी हुन सक्छ रु परिवार र स्थानीयले प्रहरीको प्रारम्भिक भूमिकामाथि प्रश्न उठाए । उनीहरूको आरोप थियो– बालिका हराएपछि तत्काल प्रभावकारी खोजी हुन सकेन । यही असन्तुष्टि बिस्तारै आक्रोशमा बदलियो । प्रहरी कार्यालय घेरिए, सडक अवरुद्ध भए, विद्यालय बन्द भए । संसद्मा समेत प्रहरीको भूमीकामाथि प्रश्न उठ्यो ।

तीन दिनपछि गरिमाको शव घरनजिकैको एउटा सुनसान घरमा भेटियो । त्यसपछि देश नै स्तब्ध भयो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या भएको खुलेको छ  । घटनामा संलग्न रहेको आरोपमा १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरी पक्राउ परेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा सुमनले चकलेट देखाएर बालिकालाई घटनास्थलतर्फ लगेको र हत्या गरेको खुलेको जनाएको छ । तर यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ– पक्राउ परेका व्यक्ति अदालतबाट दोषी ठहर भइसकेका छैनन् । आरोपित हुनु र दोषी ठहर हुनु एउटै कुरा होइन । अन्तिम दोष अदालतको न्यायिक प्रक्रियाबाटै निर्धारण हुन्छ ।

गरिमाको मृत्युको पीडा यति गहिरो छ कि त्यसलाई शब्दले व्याख्या गर्न सकिँदैन । बिहानसम्म आफ्नै आँखाअगाडि खेलिरहेको छोरी साँझ हराउँदा एउटी आमाको मनमा के बित्यो होला ? तीन दिनसम्म छोरी फर्किने आशामा बसेको परिवारले अन्ततः उनको शव देख्नुपर्दा कस्तो भयो होला ? तर गरिमाको घटनाले अर्को कठोर प्रश्न जन्माएको छ– हामीले बालबालिकाको सुरक्षालाई आखिर कति गम्भीर रूपमा लिएका छौँ ?

कानुन छ । प्रहरी छ । राज्यका संयन्त्र छन् । बालअधिकारका संस्था छन् । तर एउटा तीन वर्षीया बालिका हराएपछि खोजीमै प्रश्न उठ्ने अवस्था आउँछ भने समस्या अपराधीमा मात्र सीमित रहँदैन । राज्यको सुरक्षा प्रणाली पनि प्रश्नको घेरामा पर्छ । स्थानीयको आक्रोश त्यसैले दोषीलाई कारबाही गर भन्नेमा मात्र सीमित रहेन । बालिका हराएपछि भएको भनिएको ढिलासुस्तीको छानबिन र जिम्मेवार प्रहरी अधिकारीमाथि कारबाहीको मागसमेत उठ्यो।

विरोध चर्किएपछि सिमरा प्रहरी कार्यालयका प्रमुख डीएसपी दिलीप क्षेत्री र प्रहरी निरीक्षक प्रकाश थापालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानिएको छ । तर दुई प्रहरी अधिकारीलाई जिम्मेवारीबाट हटाउँदैमा प्रश्न सकिँदैन । गरिमा किन सुरक्षित रहन सकिनन् ? हराएको खबर पाएपछि खोजी किन प्रभावकारी भएन ? अपराध हुनुअघि रोकथाम गर्ने राज्य संयन्त्र कहाँ थियो ?र सबैभन्दा महत्त्वपूर्ण गरिमापछि अर्को कुनै बच्चाले यही नियति भोग्न नपरोस् ।

गरिमाको हत्यापछि देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भए । काठमाडौंको माइतीघरदेखि बुटवलसम्म न्यायको माग उठ्यो । सांसदहरूले पनि सरकारसँग जवाफ माग्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

बाँकी भिडियोमा 

प्रतिक्रिया दिनुहोस्